अफ्ठ्याराे भएपछि ओली–दाहालद्वारा देउवासँग परामर्श

काठमाडौं । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओली, प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहालबीच भेटवार्ता भएको छ ।

सोमबार बालुवाटारमा तीन शीर्ष नेताहरूका बीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा कुराकानी भएको स्रोतले जनाएको छ ।

छलफलमा सत्यनिरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगमा नियुक्ति लगायतका विषयमा कुराकानी भएको जनाइएको छ ।

तीन शीर्ष नेताहरूसँगको कुराकानीमा नेपाली कांग्रेसका नेताद्वय डा.मीनेन्द्र रिजाल र रमेश लेखक पनि सहभागी थिए ।

द्वन्द्वकालीन मुद्दाहरूलाई छिटो टुंग्याउने विषयमा छलफल भएको कांग्रेस नेता डा.रिजालले बताएका छन् ।

तीन शीष नेताहरूका बीच कुनै पनि निर्णय भएको छैन । आयोग गठनबारे शीर्ष नेताहरूका बीच पुनः छलफल गर्ने सहमति भएको छ ।

Published : Monday, 2019 October 21, 9:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया