गच्छदारका ‘पूर्वडन र राजावादी’का कारण कांग्रेसभित्र खैलाबैला

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विजयकुमार गच्छदारले अटेर गरेर केन्द्रीय सदस्यहरूको नाम दिएका कारण तत्कालीन लोकतान्त्रिक फोरमलाई पार्टीमा समायोजन गर्न कठिनाइ भएको छ ।

नेपाली कांग्रेसले तत्कालीन फोरम लोकतान्त्रिकसँग दुई वर्षअघि भएको पार्टी एकतालाई पूर्णता दिएको बताए पनि कांग्रेस र फोरमबीचको पार्टी समायोजनका केही विषय अझै टुंगिएको छैन ।

नेपाली कांग्रेसले गत १० असोजमा बसेको केन्द्रीय समिति बैठकबाट तत्कालीन फोरम लोकतान्त्रिकसँग भएको सहमतिअनुसार समायोजनलाई निर्णयमा पु¥याएको बताएको थियो ।

सो बैठकले स्थानीय तहदेखि नै गच्छदार नेतृत्वको तत्कालीन पार्टीसँग भएको सहमतिलाई तत्कालै कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

स्थानीय तह, प्रदेश निर्वाचन क्षेत्र, जिल्ला, संघीय निर्वाचन क्षेत्रसहितका सबै तहमा नेताहरूलाई जिम्मेवारी दिँदै केन्द्रीय सदस्यका लागि ११ जनाको नाम मागेको थियो ।

निर्णय भएको एक महिना पुग्नै लाग्दा समेत पार्टी एकतापछि उपसभापति बनेका गच्छदारले आफ्ना तर्फबाट समायोजन गर्ने केन्द्रीय सदस्यको नाम पार्टीमा बुझाएका छैनन् । उनले आफ्ना तर्फबाट केन्द्रीय सदस्य बनाउने नेताहरूको नाम सभापतिलाई दिन नसक्दा समायोजनमा तल्लै तहबाट अड्चन देखिन थालेको छ ।

उपसभापति गच्छदारले केन्द्रीय सदस्यका लागि केही नेताको नाम दिन सोही समय नै तयारी गरेको भएपनि केही नामका विषयमा असन्तुष्टि आएपछि उनी रोकिएको जनाइएको छ ।

गच्छदारले लोकतान्त्रिक फोरमका गणेश लामा र डा.गोपाल दहितलाई केन्द्रीय सदस्य बनाउन खोजेपछि कांग्रेसभित्र विरोध भएको जनाइएको छ । गणेश लामा पूर्व डन हुन् । डा.दहित पूर्वराजावादी हुन् ।

नेपाली कांग्रेसको केन्द्रीय समितिको आकार ८५ सदस्यीय छ । अब गच्छदारलाई दिने नाम टुंगिए कांग्रेस केन्द्रीय समिति ९६ सदस्यीय हुनेछ ।

कांग्रेसले समायोजनलाई निष्कर्षमा पु¥याउन भन्दै उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा उपसभापति गच्छदार, सहमहामन्त्री डा. महत तथा केन्द्रीय सदस्यद्वय महेश आचार्य र दीपक गिरी सदस्य रहेको समायोजन समिति गठन गरेको थियो ।

नेपाली कांग्रेसले समायोजन समितिको सुझावअनुसार केन्द्रीय कार्यसम्पादन समितिमा समेत समायोजनको प्रस्तावलाई ध्यान राखी सहमतिका आधारमा समावेश गर्ने निर्णय गरेको थियो ।

तत्कालीन लोकतान्त्रिक फोरमलाई महासमितिको बैठकमा सहभागी दुई सय जना महासमिति सदस्यलसहित पर्यवेक्षकका रूपमा सहभागी १४८ जना तथा थप २५२ जनालाई महाधिवेशन प्रतिनिधि बनाउँदै कुल ६ सय महाधिवेशन प्रतिनिधि दिने निर्णय भएको थियो ।

नेपाली कांग्रेसले केन्द्रीय विभागको गठन गर्दा समायोजनको प्रस्ताव समेतलाई ध्यानमा राखी सहमतिको आधारमा समावेश गर्ने सहमति भएको थियो ।

प्रदेश कार्यसमितिको गठन गर्दा समायोजनको प्रस्तावलाई ध्यानमा राखी सहमतिका आधारमा प्रदेश कार्यसमितिका सदस्य समावेश गर्ने तथा अन्य सबै तहमा समेत सहमतिको खाका बनाइएको थियो ।

Published : Monday, 2019 October 21, 9:11 am

फेसबुकबाट तपाईको प्रतिक्रिया