कम्युनिस्ट सरकारका खराब दिन शुरु, ९ विद्यार्थी संगठन आन्दोलित

काठमाडौं । नेपाल विद्यार्थी संघसहित ९ विद्यार्थी संगठनहरूले मेडिकल शिक्षालाई व्यवस्थित गर्न दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई चेतावनी दिएको छ ।

काठमाडौंको गोशालामा आइतबार अखिल (क्रान्तिकारी)को केन्द्रीय कार्यालयमा बसेको संयुक्त विद्यार्थी संगठनको बैठकले मेडिकल शिक्षामा कम्युनिस्ट सरकारले बढाएको शुल्क तत्काल फिर्ता लिन माग गर्ने निर्णय गरिएको नेविसंघका नेता ऋषिकेशजंग शाहले जानकारी दिए ।

‘नीजि मेडिकल कलेजहरूले विद्यार्थीबाट बढी लिएको शुल्क तत्काल फिर्ता गर्न र अहिल सरकारले मेडिकल शिक्षामा बढाएको शुल्क तत्काल खारेज गरी मेडिकल शिक्षालाई व्यवस्थित गरियोस्’, बैठकपछि जारी ९ विद्यार्थी संगठनको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘अन्यथा कडा संघर्षमा जाने चेतावनी दिन चाहन्छौँ ।’

मेडिकल शिक्षामा रहेका विद्यमान समस्याहरू समाधान गर्ने प्रयत्न स्वरूप यही कात्तिक ९ गते सरोकारवाला र सम्बन्धित क्षेत्रका विज्ञहरूबीच बृहत अन्तरक्रिया कार्यक्रम गर्ने निर्णय गरिएको शाहले बताए ।

‘चाँडवाँडको मौका छोपी चरम महँगी बढाई जनताको ढाड सेकिइरहँदा पनि सरकार मुकदर्शक भैइरहेकोको अवस्थामा तुरुन्त महँगी नियन्त्रण नगरे शसक्त ढंगले आन्दोलन गर्ने चेतावनी दिन चाहन्छौं’, विज्ञप्तिमा भनिएको छ ।

‘नेपाली मौलिक कला, संस्कृति, सभ्यता र भाषामाथि विद्यालय तहदेखि नै नियोजित ढंगबाट भइरहेको अतिक्रमणप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ, ‘प्रस्तुत विषयमाथि गम्भीर छलफल गर्नको निम्ति यही कात्तिक २० गते बृहत अन्तत्र्रिmया कार्यक्रम गर्ने निर्णया गरिएको छ ।’

शिक्षा क्षेत्रमा मौलाएका विभिन्न प्रकारका विकृति विसंगतीहरूलाई सरकारले निरुत्साहित गर्नुपर्नेमा उल्टो ती विसंगतीहरू फस्टाउनमा सघाउँ पुर्‍याएको अवस्था, जनताका दैनिक जनजीवनमा प्रत्यक्ष असर पुर्‍याउँदै चरम महँगी बढी रहेको लगायत जनघाती क्रियाकलापहरू निरन्तर अगाडि बढाइरहेको स्थितिमा आफूहरू गम्भीर ध्यानाकर्षण भएको ९ विद्यार्थी संगठनहरूले जनाएका छन् ।

बैठकमा ऋषिकेशजंग शाह, आलोक रायमाझी, रुपनारायण श्रेष्ठ, चिरञ्जी ढकाल, घनश्याम मिश्र, प्रवीण मिश्र, चिरञ्जीवी यादव, दुजाङ शेर्पा, अनुप लामिछानेको उपस्थिति रहेको थियो ।

Published : Sunday, 2019 October 20, 10:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया