विकासका काममा कांग्रेसले सधै सहयोग गरेको छः खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता रामहरि खतिवडाले विकास निर्माणमा कसैले अबरोध गर्छ भने त्यो अबरोध सिर्जना गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन् ।

काठमाडौंको जुडीबुटीमा शनिबार ओखलढुंगा जिल्लाको ‘जलजले समाज’ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले विकास निर्माणमा प्रतिपक्ष दलका नेताले अबरोध गरे भनेर सत्तापक्षका जनप्रतिनिधिहरूले लगाएको आरोपमा आक्रोश पोखे ।

‘ओखलढुंगामा पुल लगायतका विकासका कार्यक्रम गर्न प्रतिपक्ष दलका नेताले अबरोध गरेको भनेर सत्तापक्षका जनप्रतिनिधिहरूले आरोप लगाएको सुनियो’, उनले भने, ‘जिल्लाको विकासमा कसैले पनि अबरोध गरेको छैन । अबरोध गर्नु पनि हुँदैन ।’

चेतावनी शैलीमा खतिवडाले भने, ‘कृष्णबहादुर महरालाई कारबाही गर्न सक्नेले ओखलढुंगामा कसैले पुल बनाउन अबरोध गरेको छ भने प्रतिपक्ष होस् वा सत्तापक्षको होस् कारबाही गर्नुपर्छ ।’

ओखलढुंगाको विकासमा काम पूरा हुन बाँकी धेरै कार्य रहेको बताएका नेपाली कांग्रेसका नेता खतिवडाले भने, ‘हामी पराजित भए पनि विकासका कार्यक्रम ल्याउने छौँ । काम गर्नेछौँ । केही पुल र सडकहरू बनाउन ढिलाइ भएको छ । तिहारपछि ती सडक र पुल बनाउन दवाव दिइनेछ । आवश्यक प¥यो भने अर्को ठेकेदार पनि फेरिनेछ ।’

विगतमा मन्दिर भत्काउनेहरू मन्दिरको संरक्षण र आफ्ना बाबुआमालाई दर्शन गराउँदै हिँडेकोमा आफूलाई खुसी लागेका बताएका खतिवडाले भने, ‘ओखलढुंगाको गलेश्वर महादेवको आफ्नै महत्व छ । विगतमा गाई काट्नेहरू अहिले आएर भैसी पूजा गर्न थालेका छन् । मन्दिरको पूजा गर्न थालेका छन् । यो परिवर्तनको स्वागत गर्नुपर्छ ।’

आफूलाई कम्युनिस्ट भन्ने धेरै नेताहरूका छोराछोरी पढ्नकै लागि अमेरिकासहितका देशमा रहेको उनले बताए । ‘गाउँका जनताका छोराछोरीलाई पढ्न दिइएन’, उनले भने, ‘नेताहरूले आफ्ना छोराछोरीलाई अमेरिकासहितका देशमा पढ्न पठाए । नेताका छोराछोरी काठमाडौंमा कतै पाइँदैन । गाउँमा त झनै भेटिदैनन् ।’

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता जनादर्शन शर्माले आफ्नी छोरीको विवाह गर्न गएको बताए ।

नेपाली कांग्रेसको नेतृत्वमा संविधान बनाएर निर्वाचन गराएको उनले बताए । ‘नेपाली कांग्रेसको पालामा ओखलढुंगामा धेरै विकास भयो’, उनले भने, ‘म जनप्रतिनिधि भएको बेला । धेरै काम गर्न सकिएको थिएन । तैपनि बाँकी रहेका काम गर्दै जाने छु । म सधैँ जनताको काममा प्रतिवद्ध भएर लाग्नेछु ।’

नेपाली कांग्रेसका युवा नेता खतिवडाले इतिहाँस र संस्कृतिलाई कहिल्यै पनि भुल्न नहुने बताए । ‘राणा र राजाको इतिहाँस नपढेको भए उनीहरूले के गरेका थिए भनेर हामीले जान्ने थिएनौँ’, उनले भने, ‘हाम्रो संस्कृतिलाई भावी पुस्तालाई देखाउनुपर्छ । जानकारी गराउनुपर्छ ।’

उनले नेपालका विद्यालयहरूमा विदेशी भाषाको पढाएर नेपाली भाषालाई विस्थापित गराउन खोजिएकोमा आक्रोश पोखे ।

‘विद्यालयहरूमा चिनियाँ भाषा पढाउन थालिएको छ’, उनले भने, ‘यसले हाम्रो नेपाली भाषालाई असर गर्नु हुँदैन । नेपाली भाषा मास्नु हुँदैन ।’

Published : Saturday, 2019 October 19, 10:47 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया