अध्यक्ष अन्सारीद्वारा खातुनलाई आर्थिक सहयोग प्रदान

महोत्तरी । मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले महोत्तरी जिल्लाकी एक पीडित महिलालाई आर्थिक सहयोग गरेका छन् ।

कबिलास १ घर भएकी जहिरा खातुनलाई आयोगका अध्यक्ष अन्सारीले शनिबार घरमै पुगेर नगद ५० हजार आर्थिक सहयोग गरेका हुन् ।

पीडित खातुनको घर भत्किएपछि पालमा बस्दै आएकी छिन् । उनको घर स्थानीय बद्री ठाकुरले भत्काएर बिचल्लीमा पारेका हुन् । ठाकुरले पीडित परिवारलाई पटक–पटक दुःख दिँदै आएको जनाइएको छ ।

खातुनको समस्याका बारेमा आयोगका अध्यक्ष अन्सारीले राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता शरतसिंह भण्डारीसँग पनि फोनमा परामर्श गरेका थिए ।

भण्डारीले खातुनलाई न्याय दिने विषयमा आफू तयार रहेको आश्वासन दिएको अध्यक्ष मियाँले बताए ।

अध्यक्ष मियाँले खातुनलाई न्याय दिएर घरमा बस्ने वातावरण बनाउन आयोगले पहल लिने बताएका छन् ।

खातुनका पति विदेश जाने क्रममा लागेको ८० हजार ऋणका कारण स्थानीय दलालले छ लाखको कागज बनाइ बस्दै आएको घर भत्काइदिएका थिए । यो मुद्धा अदालतसम्म पुगेको थियो ।

पीडित खातुनलाई आर्थिक सहयोग प्रदान गर्ने कार्यक्रममा शेख फारुख, राजी हैदर, कलाम मुद्धिन अन्सारी लगायतको उपस्थिति रहेको थियो ।

Published : Saturday, 2019 October 19, 6:21 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया