कम्युनिस्ट सरकारले कांग्रेस नेता फसाएको भन्दै देउवाद्वारा बचाउ

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो दलका सांसद मोहम्मद अफताब आलमको प्रक्राउलाई कांग्रेसविरुद्धको षडयन्त्र भनेर कडा टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुर जिल्लाको मध्यपुरथिमिको बोडेमा आयोजना गरेको प्रशिक्षण कार्यक्रममा देउवाले आलमलाई पक्राउ गरेर दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले कांग्रेसविरुद्ध षड्यन्त्र गरेको बताएका हुन् ।

कांग्रेसका सांसद आलमलाई प्रहरी लगाएर पक्राउ गरी कांग्रेसविरुद्ध षडयन्त्र गरेको आरोप उनको थियो ।

सभापति देउवाले १२ वर्षअघिको मुद्दालाई ब्यूँझाएर सरकारले कांग्रेसलाई प्रहार गर्न थालेको बताए ।

उनले नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिलाई राम्रो गरेर जनताको मन जित्न निर्देशन दिएका छन् ।

‘कम्युनिस्ट र कांग्रेस फरक हो भनेर कामबाटै देखाउनुपर्छ’, देउवाले भने, ‘कांग्रेसबाट विजयी भएका स्थानीय तहका प्रमुख र उपप्रमुखले अब कम्युनिस्ट सरकारको भन्दा राम्रो काम गरेर देखाउनुपर्छ ।’

नेपाली कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको आरोप लगाए ।

उनले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको बताएका छन् ।

उपसभापति तथा अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुख विमलेन्द्र निधिले कांग्रेसले आसन्न उपनिर्वाचन जसरी पनि जित्नुपर्ने बताउँदै पार्टी्भित्रको गुटबन्दी अन्त्य हुन जरुरी रहेको औँल्याए ।

महामन्त्री डा शशांक कोइरालाले मुलुकलाई समृद्ध बनाउन सरकारमा कांग्रेसको अभाव खड्किएकोले आन्तरिक एकताका साथ कांग्रेस अघि बढ्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा नेता कृष्णप्रसाद सिटौलाले सञ्चारमाध्यम समेत षडयन्त्रमूलक रुपमा कांग्रेसको विरुद्धमा आएको बताए ।

उनले भने, ‘पत्रपत्रिकालगायत सबै सञ्चारमाध्यमले समेत ‘ग्रान्ड डिजाइन’ बनाएर कांग्रेसविरुद्ध लागेका छन्, मोहम्मद अफताब आलमको विरुद्ध आएका समाचार यसको नमूना हो ।’

कार्यक्रममा केन्द्रीय सदस्य सीता गुरुङ, भक्तपुर जिल्ला सभापति दुर्लभ थापा, गाउँपालिका विकास समितिका महासचिव वंशलाल लामालगायतले लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध संघर्षका लागि तयार रहनुपर्नेमा जोड दिए ।

नेपाली कांग्रेस पार्टीबाट विजयी गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, सम्बन्धित गाउँपालिकाका कांग्रेसका सभापति, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखका लागि आयोजना गरिएको प्रशिक्षणमा देशभर ४ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको कांग्रेस भक्तपुर जिल्ला सचिव निशान ढुङ्गेलले जानकारी दिएका छन् ।

प्रशिक्षण शनिबार सम्पन्न हुने कांग्रेसले जनाएको छ । यसअघि नेपाली कांग्रेसले नगरपालिकाका मेयर र उपमेयरहरूलाई प्रशिक्षण दिइसकेको छ ।

Published : Friday, 2019 October 18, 11:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया