रामचन्द्रका कुराले कम्युनिस्ट सरकारलाई तनाव

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभाको सभामुख र उपसभामुखमध्ये एक पद प्रतिपक्षी दललाई दिनुपर्ने माग दोहोर्‍याएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले काठमाडौंमा आयोजना गरेको चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा पत्रकारहरूलाई सम्बोधन गर्दै पौडेलले सभामुख र उपसभामुखमध्ये एउटा पद नेपाली कांग्रेसलाई दिनुपर्ने बताएका हुन् ।

उनले यी दुईमध्ये एक पद नदिए सदन र सडकमा विरोध गर्ने चेतावनी दिए ।

नेता पौडेलले संवैधानिक व्यवस्था र संसदीय अभ्यासका आधारमा ती दुवै पद एकै दलले लिन नहुने र प्रतिपक्षीलाई एक पद दिइनुपर्ने बताए ।

‘यो मान्यताविपरीत निर्णय भएमा हामी मान्दैनौँ, सदन र सडकमा विरोध गर्छाैं’, उनले भने, ‘सदनमा रहेका कांग्रेस सांसदहरूले पनि लाछिपन देखाउनु हुँदैन ।’

एक महिला कर्मचारीलाई जबरजस्ती करण गरेको प्रयासको आरोपपछि सभामुख पदबाट कृष्णबहादुर महराले राजीनामा दिएपछि हाल त्यो पद रिक्त छ ।

नेपाली कांग्रेसले यसअघि पनि सभामुख सत्तारुढ दलले लिएका कारण उपसभामुख प्रमुख प्रतिपक्षलाई दिनुपर्ने माग उठाउँदै आएको थियो ।

नेकपाका नेताहरू सहभागी भएकै कार्यक्रममा पौडेलले सभामुख र उपसभामुखको पदमा कुरा उठाएपछि कम्युनिस्टहरूलाई तनाव भएको छ ।

नेता पौडेलले कांग्रेसका सांसदहरुले पनि संसदमा दरिलो रुपमा यसबारे आफ्नो कुरा राख्न सक्नुपर्ने बताए । ‘संसदमा रहेका हाम्रा साथीहरुले पनि लाछीपना देखाउन हुँदैन’, उनले भने ।

नेता पौडेलले नेपाली राजनीतिमा नैतिकताको खडेरी देखा परेको पनि उल्लेख गरेका छन् ।

उनले भने, ‘राजनीतिमा नैतिकताको खडेरी परेको जस्तो लाग्छ । जता पनि पैसा, पहुँचमा मात्रै काम हुन्छ । हत्या, हिंसा मात्रै देखिन्छ । सिद्वान्तको राजनीति देखिन्न । म सबैलदाई आग्रह गर्न चाहन्छु– सिद्वान्तको राजनीति गरौं ।’

Published : Wednesday, 2019 October 16, 9:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया