पूर्वएमालेका नेताको छोराको धुन्दुकारी हर्कत, प्रहरी नै दिक्क

दार्चुला । दुईतिहाइको बलियो कम्युनिस्ट सरकारको सत्ता र राजनीतिक आडमा मादक पदार्थ सेवन गरी सरकारी मोटरसाइकल चलाउँदै प्रहरीलाई धम्क्याउने मालिकार्जुन गाउँपालिकाका सबईञ्जिनियरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मालिकार्जुन गाउँपालिका वडा नम्बर ३ घर भएका सुमेरु धामीले मादप पदार्थ सेवन गरी आइतबार राति गाउँपालिकाको म १ ब २८६ नम्बरको मोटरसाइकल चलाउँदै प्रहरीलाई धम्क्याउँदै गरेको भिडियो बाहिर आएको छ । उनले प्रहरीलाई समाजमा बोल्नै नहुने शब्द प्रयोग गरे गाली गलौज गरेका छन् ।

सबईन्जिनियर धामीले आइतबार राति शैल्यशिखर नगरपालिकाको वडा नम्बर ९ गोकुलेश्वर बजारको एक पसलमा मादक पदार्थ सेवन गरी गाउँपालिकाको सरकारी मोटरसाइकल दुरुपयोग गरेका छन् ।

अत्याधिक मादक पदार्थ सेवन गरेका सबईन्जिनियर धामीले चलाउँदै गरेको मोटरसाइकल दुर्घटनामा परेपछि ईलाका प्रहरी गोकुलेश्वरमा कार्यरत प्रहरीले उद्धार गरेका थिए । उद्धार गर्ने प्रहरीमाथि मदिराको मातमा लठ्ठिएका सबईन्जिनियर धामीले हातपात समेत गरेका छन् ।

आइतबार राति ११:१५ को आसपास कठपतेबाट गोकुलेश्वर बजारतर्फ गैइरहेका सबईन्जिनियर धामीले प्रहरीलाई गाली गलौज गर्नुका साथै हातपात समेत गरेको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिए ।

सबईन्जिनियर धामीले हानेको ढुंगा लागेर ईलाका प्रहरी कार्यालय गोकुलेश्वरमा कार्यरत प्रहरी जवान बलविर ऐरीको खुट्टामा चोट लागेको उनले बताए ।

ड्युटीमा रहेका बेला प्रहरीमाथी हातपात गर्ने सबईन्जिनियर धामीविरुद्ध राष्ट्रसेवाक कर्मचारीलाई बाधा गर्न नहुने कसुरमा मुद्धा चलाइने उनले बताए । मादक पदार्थ सेवन गरेका सबईन्जिनियर धामीको गोकुलेश्वर अस्पतालमा आइतबार राति नै स्वास्थ्य परीक्षण गरिएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

सबईन्जिनियर धामीले यसअघि असोज १९ गते सार्वजनिक बिदाको दिनमा पनि गाउँपालिकाको सोही मोटरसाईकल बिना अनुमति चलाउँदा मोटरसाईकल ट्राफिक प्रहरी गोकुलेश्वरले नियन्त्रणमा लिएको थियो । उक्त दिन पनि सबईन्जिनियर धामीले प्रहरीसंग विवाद गरेका थिए ।

०७५ साल माघ २५ गते महाकाली नगरपालिका वडा नम्बर ७ धापका झुसेराम ओडका छोरा किरण ओडलाई सोही मोटरसाइकलले ठक्कर दिएका थिए ।

किरणको बायाँ खुट्टमा गहिरो चोट छ । त्यति बेला मालिकार्जुन गाउँपालिकाको १ लाख रुपियाँ लिएर केस मिलाएका सबईन्जिनियरका बुबा मोहन सिंह धामीले पीडितलाई एक पैसा समेत नदिएको खुल्न आएको छ ।

मालिकार्जुन गाउँपालिकाका सबईन्जिनियर सुमेरु धामी स्थानीय तहको चुनावमा तत्कालीन एमालेबाट मालिकार्जुन गाउँपालिका अध्यक्षमा पराजित भएका मोहन सिंह धामीका छोरा हुन् ।

सबईन्जिनियर धामीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय दार्चुला पठाइएको प्रहरी निरीक्षक खड्काले जानकारी दिए । सबईन्जिनियर धामीले सरकारी मोटरसाइकल बिना लाइसेन्स चलाइरहेको समेत प्रहरीले जनाएको छ ।

Published : Tuesday, 2019 October 15, 10:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया