‘फुच्चे’ विकाससँग डरायो दुईतिहाइको बलियो कम्युनिस्ट सरकार

काठमाडौं । चीनका राष्ट्रपति सी जिनपिङको भ्रमणका बेला पक्राउ परेका नेपाल फाउण्डेसनका अध्यक्ष विकास ठाकुरले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारसँग आक्रोशित बनेका छन् ।

सीको भ्रमणका बेला आफूलाई बिना कारण पक्राउ गरेको भन्दै सरकारसँग रिसाएका हुन् । चीनको दवावमा परेर सीकाे भ्रमणका बेला सरकारले धरपकड गर्न लगाएको उनले बताए ।

‘सीको भ्रमणको विरोध गर्ने कुनै पनि योजना थिएन’, उनले भनेका छन्, ‘शुक्रबार साँझ तराईबाट काठमाडौं प्रवेश गर्दै गर्दा फर्पिङबाट बिनाकारण कुनै पनि पुर्जी नदिएर पक्राउ गरेर संविधान र कानूनको उल्लंघन भएको छ ।’

ठाकुरले दुईतिहाइको कम्युनिस्ट सरकारले संविधानले दिएको मानवअधिकार, घुमफिर र अभिव्यक्ति स्वतन्त्रतामाथि कुठाराघात गरेको आरोप लगाए ।

‘विरोध नै गरेको भए पनि संविधानले शान्तिपूर्ण रुपमा प्रदर्शन गर्न पाउने अधिकार दिएको छ’, उनले भने, ‘तर विरोध प्रदर्शन गर्ने कुनै योजना थिएन ।’

तपाइले सीको स्वागतका लागि बनाइएको ब्यानर च्यात्नेदेखि जिल्ला प्रशासनमा प्रदर्शन गर्न पाउँ भनेर निवेदन दिनुभएको थियो रे नि हो ? भन्ने प्रश्नमा उनले भने, ‘म दशैँ मनाउन घर गएको थिए । घरबाट काठमाडौं आउँदा एक दिन वीरगञ्ज बसे । अर्को दिन काठमाडौं आउँदा फर्पिङबाट पक्राउ परे । त्यो सबै आरोप हो । कुनै सत्यता छैन ।’ पोस्टर च्यात्ने र निवेदन दिनेलाई प्रहरीले पक्राउ गरिसकेको उनले बताए ।

मधेसको एक जना युवा भएकै कारण वर्तमान सरकारले राजनीतिक पूर्वाग्रही भएर आफूलाई पक्राउ गरेको ठाकुरको आरोप छ । उनले भने, ‘तराईबासी भएकै कारण चीन विरोध भएको भनेर पक्राउ गरेर दुःख दिने कार्य यो कम्युनिस्ट सरकारको बुझाइनै गलत छ ।’

‘म जस्तो सानो फुच्चे विकास ठाकुरसँग यति ठूलो र बलियो कम्युनिस्ट सरकार किन डरायो ? मैले बुझेको छैन’, उनले भने, ‘मैले चाहेको भए लुकेर बस्न पनि सक्थे । मलाई प्रहरीले खोजेको भन्ने थाहा थियो । लुकेर बसिन ।’

ठाकुरलाई चीनका राष्ट्रपति सीको भ्रमणको बेला पक्राउ गरेर कीर्तिपुरस्थित प्रहरी वृत्तमा राखेको थियो । उनलाई आइतबार चार बजेतिर छाडिएको थियो । हिरासतमा रहेका बेला प्रहरीले देखाएको व्यवहारको उनले साह्रना गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमण आएका बेला स्वागत गर्न पुगेका ठाकुरलाई चीन विरोधीका रुपमा चिनिने गरिन्छ ।

Published : Tuesday, 2019 October 15, 11:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया