चीनको ऋणले डुबेका देशहरू, नेपालमाथि पनि खतरा

काठमाडौं । चीनले दिएको ऋणका कारण धेरै राष्ट्रहरूको बिचल्ली भएको छ । चीन विश्वकै सबैभन्दा ठूलो ऋणदाता राष्ट्र हो ।

चीनले सन् २०१८ सम्ममा विश्वका विभिन्न मुलुकमा ५० खर्ब अमेरिकी डलर ऋण लगानी गरिसकेको तथ्यांक छ ।

चिनियाँ ऋण लगानी भित्र्याएका अधिकांश मुलुकको अर्थतन्त्र समस्यामा परेका छन् ।

चीनको निकै नजिकको छिमेकी भइकन अन्य देशहरूको तुलनामा नेपालमा भने चिनियाँ अनुदान र ऋणको मात्रा नगन्य छ ।

हालसम्ममा नेपालले चीन सरकारबाट ३६ करोड ३४ लाख अमेरीकी डलर बराबरको सहायता लिएको छ । जुन नेपालको जीडीपीको साढे ११ प्रतिशतमात्र हो ।

चिनियाँ निजी क्षेत्रको लगानी पनि नेपालमा उत्साहजनक छैन ।

चिनियाँ राष्ट्रपति सी चिनफिङको भ्रमणका बेला नेपालले चीनसमक्ष थुप्रै आयोजनाहरू अघि सार्ने तयारी गरेको छ ।

केरुङ–काठमाडौं रेलदेखि मदन भण्डारी विश्वविद्यालयसम्मका आयोजना नेपालले अघि सार्दैछ । नेपालले अघि सारेका आयोजनाहरू अर्बाैं डलरका रहेका छन् ।

चीनबाट अन्धाधुन्द ऋण लिएर पूर्वाधारमा लगानी गरेका थुप्रै मुलुकहरूको अवस्था बर्बाद भएको छ ।

श्रीलंका, जीबोटी, कीर्गिस्तान, लाओस, माल्दिभ्स, मंगोलिया, मोन्टेनेग्रो, पाकिस्तान, इथिओपिया, केन्या, ताजिकिस्तानलगायतका देश चिनियाँ ऋणमा डुबेका छन् ।

यीमध्ये कतिपय मुलुकको ऋण चीनले मिनाहा गरिदिएको छ । कतिपयको ऋण तिर्ने अवधि बढाइदिएको छ ।

कतिपय अफ्रिकी देशहरुले त चीनबाट जीडीपीको ९३ प्रतिशतसम्म ऋण पनि लिएका छन् ।

‘बीआरआई’ अभियानमा जोडिएकाले चीनले नेपालमा पनि पूर्वाधार लगानीमा चासो पक्कै देखाएको छ ।

श्रीलंकाले चिनियाँ लगानीमा निर्माण गरेको बन्दरगाह चलाउन नसकेपछि चीनले नै ९९ वर्षका लागि ‘लिज’मा लिएको छ ।

चीनबाट २५ अर्ब डलर बढी ऋण लिएको पाकिस्तानको अर्थतन्त्र पनि समस्यामा परिसकेको छ । पाकिस्तानले चीनको ऋण नलिने जनाइ सकेको छ ।

चार लाखमात्रै जनसंख्या रहेको माल्दिभ्समा पनि चीनको लगानीमा विमानस्थल निर्माण भइरहेको छ ।

विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोषकाअनुसार माल्दिभ्स चिनियाँ ऋणमा फसिसकेको छ ।

अफिकी देश जीबोटीले आफ्नो जीडीपीको ९३ प्रीतशत अर्थात् एक अर्ब ७१ करोड डलर ऋण लिएको छ ।

जीबोटीले पनि आफ्नो बन्दरगाह सन्चालनको जिम्मा चीनलाई नै दिइसकेको छ ।

लाओसले पनि जीडीपीको २५ प्रतिशत बराबर अर्थात् चार अर्ब २१ करोड डलर ऋण चीनबाट लिएको छ ।

चिनियाँ ऋणमा डुब्ने मुलुकहरूमा मंगोलिया, मोन्टेनेग्रो, ताजिकिस्तान र कीर्गिस्तान पनि रहेका छन् ।

थुप्रै देशमा लगानी डुब्ने अवस्था आएपछि चीनले नै पछिल्लो समयमा लगानीमा सतर्कता अपनाउने गरेको छ ।

Published : Saturday, 2019 October 12, 9:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया