सरकारले सीको सवारीका बेला सर्वसाधारणलाई सडकमा हिँड्न नदिने

काठमाडौं । सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङ हिँड्ने सडकलाई सवारीका बेला सर्वसाधारणका लागि बाटो बन्द गरिदिएको छ ।

सीको दुईदिने नेपाल भ्रमण शनिबारबाट सुरू हुँदैछ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता रविकुमार पौडेलले चिनियाँ राष्ट्रपति सी हिँड्ने बेला त्यो रूट पूर्ण रूपमा ठप्प गरिने जानकारी दिए ।

कुन सडक कतिबेरसम्म बन्द हुने अहिल्यै भन्न नसकिने पौडेलले जानकारी दिए ।

राष्ट्रपति सी हिँड्ने एयरपोर्ट, शितलनिवास, सोल्टी होटल लगायत ठाउँमा जाँदा त्यही समय र्पयो भने सहायक सडक प्रयोग गर्नुपर्नेछ ।

सीको जहाज शनिबार अपराह्न ४:३० बजे त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल अवतरण गर्ने तालिका छ ।

यस निम्ति विमानस्थल साढे २ घण्टा बन्द हुने विमानस्थल कार्यालयले जनाइसकेको छ ।

शनिबार दिउँसो २:५५ देखि ५:२५ सम्मका लागि सबै व्यवासायिक उडान स्थगन गर्न कार्यालयले आदेश दिएको छ ।

विमानस्थलमा अवतरण गरेपछि सीको राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता तय भएको छ ।

तालिकाअनुसार साँझ ६:३० बजे दुई देशका राष्ट्रपतिको भेटवार्ता हुनेछ ।

साँझ ७:१५ मा सीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्ने कार्यक्रम रहेको छ ।

यी भेटवार्तापछि साँझ ७:३० मा सोल्टी होटलमा रात्रिभोज कार्यक्रम छ । शनिबारका लागि सीको औपचारिक भ्रमणतालिका यति नै हो ।

आइतबार बिहान १०:३० बजे सीले नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गर्नेछन् ।

११:३० मा प्रधानमन्त्री केपी ओली र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता र द्विपक्षीय सम्झौता हुनेछ ।

आइतबारै दिउँसो १ बजे सीको चीन फर्किने उडान छ । आइतबार पनि बिहान ११:२० देखि १:५० सम्म विमानस्थल बन्द हुनेछ ।

Published : Friday, 2019 October 11, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया