गाउँका मृगौला पीडितको समस्या कम्युनिस्ट सरकारले बुझ्न सकेनः खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले दुईतिहाइको बलियो कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले मृगौला रोगका पीडितहरूको उपचारमा ध्यान नदिएको आरोप लगाएका छन् ।

ओखलढुंगाका मृगौला रोगका पीडित ४५ वर्षीय जंगबहादुर बिकलाई आर्थिक सहयोग गर्न शुक्रबार सुनकोशी गाउँपालिका वडा नम्बर २ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै खतिवडाले सरकारले मृगौला रोगका पीडितहरूको उपचारलाई सर्वसुलभ बनाउनु पर्ने बताएका हुन् ।

‘प्रधानमन्त्री खड्गप्रसाद ओलीजी आफै मृगौला पीडित हुनुुहुन्छ’, उनले भने, ‘आफूलाई जस्तै गाउँका गरिव जनता र मृगौला पीडितको समस्या उहाँले बुझ्नुपर्छ ।’

नेपाली कांग्रेसका सभापति एवम् तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले मृगौला पीडितलाई औषधि सेवनका लागि दिएको मासिक पाँच हजार आर्थिक सहयोग कम्युनिस्ट सरकारले खारेज गरेको भन्दै खतिवडाले विरोध जनाए ।

‘कांग्रेसको सरकारको निर्णय भनेर खड्गप्रसाद ओलीज्यूको सरकारले मृगौला रोगका पीडितलाई दिन भनेर गरेको पाँच हजारको निर्णय बलियो कम्युनिस्ट सरकारले खारेज गरिदियो’, उनले भने, ‘गाउँका जनतालाई उपचार गर्न कति समस्या छ भन्ने कुरा कम्युनिस्ट सरकारलाई के थाहा होला र ?’

राईजिङ नमूना युवा क्लवको संयोजन मृगौला रोगका पीडित जंगबहादुर बिकलाई करीव पाँच लाख रुपियाँ विशेष कार्यक्रम गरेर प्रदान गरिएको थियो । कार्यक्रममा स्थानीय जनताको उल्लेख्य सहभागिता रहेको थियो ।

आर्थिक सहयोग प्रदान गर्नेमा जीवन केसीले एक लाख पचास हजार, सुनिल खड्काले एक लाख, जीबी खड्काले २० हजार, ओखलढुंगा नगरपालिकाका मेयर मोहन खड्काले ५० हजार, रुद्र अधिकारीले ५० हजार आर्थिक सहयोग गरेका छन् ।

Published : Friday, 2019 October 11, 9:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया