कम्युनिस्ट सत्ताले मधेशीलाई दास बनाउन खाेज्दै छः राजकिशोर यादव

सिरहा । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) अध्यक्षमण्डलका नेता राजकिशोर यादवले विभिन्न राजनीतिक दलले मधेशलाई अवसरको भाँडोको रुपमा मात्र प्रयोग गरेको बताएका छन् ।

सिरहाको कल्याणपुर नगरपालिका–९, डुमरीमा बिहीबार आयोजित शुभकामना आदानप्रदान एवं कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले केही राजनीतिक दलबाट मधेशलाई ठग्ने काम मात्र भएको आरोप लगाए ।

‘मधेशी जनताको मनमा छलकपट छैन, सोझा र मनका धनी छन्’, उनले भने, ‘मधेशी जनता, अधिकार र विकासको आशामा सदियौंदेखि कांग्रेस, तत्कालीन एमाल, माओवादी एवं हालको नेकपालाई भोट दिए ।’

उनले भने, ‘तर आजसम्म कांग्रेस र नेकपाले मधेशलाई के दियो ?’

नेता यादवले नेकपा र कांग्रेसले मधेशलाई भाँडोको रुपमा मात्र प्रयोग गरेको कुरा मधेशी जनताले बुझ्न अति जरुरी रहेको बताए ।

मधेशीकै भोटको सहारामा नेपालको सत्तामा शासन गरेका पार्टीले उत्पीडनमा परेका मधेशी जनतालाई अधिकार दिलाउनुको साटो विभिन्न कानूनमार्फत् अधिकार नै कटौती गरेर झन कमजोर बनाउने काम गरेको नेता यादवले बताए ।

मुख्य दल र केही नेताहरुले मधेशीलाई अधिकार नदिएर सधैंका लागि दास बनाउन खोजेको उनको भनाइ थियो ।

मधेशी जनता अब ती दलको जालझेलमा पर्नु महाभूल हुने नेता यादवले बताए ।

‘यिनीहरू मधेशीलाई सधैंका लागि मतदाता र करदाताका रुपमा मात्रै प्रयोग गर्दै दास बनाउन खोज्दैछन्’, उनले भने, ‘त्यसैले मधेशी जनता अब सचेत भएर अगाडि बढ्न जरुरी छ ।’

आफ्नो पार्टी यसकै लागि संघर्षरत रहेको र राजपाको जन्म नै मधेशी जनतालाई देशको सम्मानित नागरिक बनाउनको लागि भएको उनले बताएका छन् ।

यसका लागि सबै मधेशी जनताको साथको आवश्यकता रहेको र एकजुट भएर हिड्नुपर्ने समय आएको नेता यादवले बताए ।

प्रतिनिधि सभाका सांसद समेत रहेका नेता यादवले विकासको काममा पार्टीभन्दा माथि उठेर लाग्न जनप्रतिनिधिसहित सबैलाई आग्रह गरेका छन् ।

उनले आफूबाट हुन सक्ने सहयोगबारे खुलेर माग्न आग्रह गर्दै समाजको हितमा हुने कामको लागि आफू कुनै प्रकारको सहयोग गर्न पछि नहट्ने प्रतिवद्धतासमेत गरेका छन् ।

प्रदेश २ सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले मधेशी जनता देशको सम्मानित नागरिक बन्न सचेत हुन जरुरी भएको बताए ।

उनले कांग्रेस, नेकपालगायतका दलले मधेशसँग धोकाधडी मात्र गर्दै आएको भन्दै अब सचेत हुनुपर्ने समय आएको बताएका छन् ।

Published : Thursday, 2019 October 10, 10:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया