दुईतिहाइको कम्युनिस्ट सरकारलाई खतिवडाको झट्का लाग्ने ब्याङ्ग्य

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले विदेशी पाहुना आउँदा मात्रै राजधानीका सडक चिल्लो बनाउने परम्पराको अन्त्य गरेर सधैँ सबै सडकहरूको विकासका लागि सुझाव दिएका छन् ।

युवा नेता खतिवडाले बिहीबार ट्वीट गर्दै दुईतिहाइको बलियो कम्युनिस्ट सरकारलाई भारत र चीनका राष्ट्र प्रमुख आउँदा मात्रै सडक बनाउने परम्पराको अन्त्य हुनुपर्ने बताएका हुन् ।

‘के हाम्रा बाटाहरू नरेन्द्र मोदी र सी जिन पिङ आउँदा मात्र बन्ने हुन् ?’, उनले प्रश्न गर्दै भनेका छन्, ‘पहाडतिर यी नेता जाँदैनन्, कसरी बाटो पिच बनाउने होला ?’

‘अनि अर्को देशका नेता आउँदा मात्र हुने विकास कति दिगो होला ? अनि यसरी सम्पन्न मुलुक होला र ?’, खतिवडाले भनेका छन्, ‘उखान होइन कामले समृद्धिको मुलुक होस्, प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, शुभकामना ।’

चीनका राष्ट्रपति नेपाल भ्रमणमा आउन थालेपछि दुईतिहाइको कम्युनिस्ट सरकारले चिनियाँ राष्ट्रपति मात्रै हिँड्ने सडकलाई मर्मत सम्भार गरेको छ ।

कुनै देशको राष्ट्रप्रमुख आउँदा मात्रै सडक मर्मत र सुधार गर्ने कार्यको नेपाली कांग्रेसका युवा नेता खतिवडाले विरोध गर्दै सधैभरि सडकको विकास र सुधारमा जोड दिएका हुन् ।

Published : Thursday, 2019 October 10, 10:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया