महराको सांसद पद पनि फुत्कियो, तलब भत्ता नपाउने

काठमाडौं । पक्राउ परेसँगै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता कृष्णबहादुर महराको तलव, भत्ता रोकिएको छ ।

प्रहरीले जबरजस्त करणी गरेको अभियोगमा महरालाई आइतबार साँझ बालुवाटारस्थित सभामुखको सरकारी निवासबाट पक्राउ गरेको थियो । पक्राउ परेसँगै सोही दिनदेखिको तलव, भत्ता महराले पाउने छैनन् ।

आइतबार साँझदेखि महराको सांसदको हैसियत गुमेको छ । सांसदको हैसियतमा पाउने कुनै पनि सुविधा उनले पाउने छैनन् ।

यसअघि उनले सभामुख पदबाट राजीनामा दिएका थिए । सांसद पदबाट भने उनले राजीनामा दिएका थिएनन् । महराको संसदको लोगो भने कायम रहनेछ ।

संसद सचिवालयकी कर्मचारी रोशनी शाहीलाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले महरालाई पक्राउ गरेको छ । शाहीले शुक्रबार महराविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् ।

दाङ क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभामा निर्वाचित महराले संसद सचिवालयकी महिला कर्मचारीलाई उनकै कोठामा मदिरा पिएर जबरजस्ती करणी गरेको अभियोग लागेको छ । अभियोग प्रमाणित भएमा महरालाई पाँच वर्षसम्म जेल सजाय हुनेछ ।

Published : Monday, 2019 October 7, 11:08 am

फेसबुकबाट तपाईको प्रतिक्रिया