कांग्रेसलाई गिरोहले चलाउनु हुँदैन, पार्टी चलाउन हामी छाैंः गगन थापा (अन्तर्वार्ता)

नेपाली कांग्रेसले दुई चरणको राष्ट्रिय जागरण अभियान चलाएको छ । कांग्रेसलाई अभियानले धेरै फाइदा भएको नेताहरूले बताएका छन् । कांग्रेसले तेस्रो चरणको अभियान पनि चलाउने तयारी गरेको छ । त्यति मात्रै होइन नेपाली कांग्रेसको १४औँ महाधिवेशन पनि आउँदै छ । नेताहरूले धमाधम उम्मेदवारीहरू घोषणा गर्न थालेका छन् । अधिकांश नेताले मुख खोलेका छैनन् । यी समग्र विषयमा हाम्रा सहकर्मीले नेपाली कांग्रेसका युवा नेता एवम् केन्द्रीय सदस्य गगनकुमार थापासँग गर्नुभएको कुराकानीको सम्पादित अंश

चियापान कार्यक्रम किन गर्नुभयो ?

मेरो निर्वाचन क्षेत्रका साथीहरूलाई चियापान कार्यक्रम राखेको हो । मेरो सम्झना पनि हो । निर्वाचन लगत्तै कार्यक्रम गर्नेभन्ने योजना थियो । हामी अलिकति ढिलो पनि भयौँ । हामीले खास चाहिँ नयाँ टोल कार्यसमिति बनाएका छौँ । नयाँ विधानका आधारमा । पहिला हाम्रो ब्लक समिति थियो । त्यसले निर्वाचनमा काम गर्‍यो । त्यो कार्यसमितिको विदाइ पनि हो । नयाँ समिति स्वागत गर्‍यौँ । पुरानोलाई विदाइ गर्‍यौँ ।

यो कार्यसमिति पार्टीको विधान अनुसार बनाउनु भएको हो कि ? तपाई आफ्नो निर्णयले बनाउनु भएको हो ?

पहिला हामीले आफ्नै अभ्यास गर्‍यौँ । ब्लक समिति भनेर ईकाइभन्दा पनि तल झरेर सानो सानो सय परिवार जतिको एक ब्लक बनाएर काम गर्‍यौँ । त्यसले हामीलाई निर्वाचनमा असाध्यै सहयोग गर्‍यो । त्यही कुरा हामीले पार्टीमा लिएर गयौँ । पार्टीले अहिले विधानमा पनि टोलको व्यवस्था गरेको छ । पुरानो कार्यसमिति हाम्रो सहजताको निम्ती बनाएको ब्लकलाई छाडेर । त्यसलाई धन्यावाद दिएर पार्टीको विधानसँगै मिल्ने गरेर टोल समितिहरू बनाएका छौँ ।

तपाईको चर्चा नेपाली कांग्रेसको महामन्त्रीमा छ नि ? कुरा के हो ?

महामन्त्री त म पहिला लडिसकेको हो । त्यस कारण स्वभाविक रुपमा चर्चा हुनु ठीकै छ । सबैसँग सल्लाह गर्छु । हेरौँ के हुन्छ ।

महामन्त्रीमा उम्मेदवारी दिनु हुन्छ कि हुँदैन ?

यस्तो भयो । महामन्त्री उम्मेदवारी दिने कुरा त स्वभाविक भइहाल्यो । अस्वभाविकहरू पनि हुन सक्छन् । सकेसम्म स्वभाविक होस् भन्ने चाहना हो ।

कांग्रेसभित्र गुट छ । यो गुटको व्यवस्थापन कसरी गर्नु हुन्छ ?

निर्वाचन हुने पार्टीहरूमा गुट बन्छ । दुई जना मान्छे निर्वाचन लडेपछि पनि गुट बन्छ । कांग्रेसमा गुटभन्दा पनि गिरोह जस्तो भयो के । गुटभन्दा पनि गिरोह जस्तो भयो । जसले गर्दा पार्टीका ठूलो नेताहरूलाई पार्टीभन्दा पनि महत्वपूर्ण कुरा के रहने भयो भने ? गुट रहने भयो । किन भने गुट बाँचे आफू बाँचिने भयो । यसलाई चाहिँ भत्काउनुपर्छ । यस पटकको महाधिवेशनमा यसलाई भत्काउने प्रयास हुन्छ ।

पार्टीमा तपाईहरू मिलेर जानु हुन्छ ?

अहिले पनि थुप्रै कुराहरू गुटका कारण लामो समयदेखि अड्किरहेको थियो । हामीले एकपछि अर्को गरेर हल खोज्यौँ । केही दिनभित्र भ्रातृ संस्थाहरूको कुराहरू पनि टुंग्याउँछौँ । नेविसंघ, तरुण दल लगायतका विषयहरू पनि नेताहरूसँग विभिन्न चरणमा छलफलहरू भइरहेको छ । मलाई विश्वास छ । समझदारीका विषयमा टुंगिन्छ ।

यो सरकारले अभिव्यक्ति स्वतन्त्रतामा प्रहार गरेको छ ? के निरंकुसता आएकै हो ?

यो चाहिँ तीन वटा मोर्चामा सँगै काम गरेको देखिन्छ । एउटा चाहिँ यो सरकारले सत्ताको प्रयोग गरेर आफूसँग असहमत राख्नेहरूलाई विभिन्न ढंगबाट त्यसलाई कमजोर बनाउँदै लगेर जाने । त्यसलाई संकुचित बनाउँदै जाने काम भएको छ । दोस्रो चाहिँ कानून नै बनाएर गर्ने । अभिव्यक्ति स्वतन्त्रतालाई कुण्ठित गर्नका निम्ती आफूसँग बहुमत छ । बहुमतको दुरुपयोग गरेर एक प्रकारको कानून पारित गर्ने संसदबाट प्रयासरत छ । तेस्रो सबैभन्दा खतरनाक हिँजो देखियो ।

एउटा व्यक्तिमाथि निर्घात कुटपिट भयो । कुटपिट भयोभन्दा पनि खतरा चाहिँ कुटपिट भएकोमा कोही पनि त्यसलाई क्षमायाचना गरिरहेको छैन । न सरकारले यो गलत भयो भनिरहेको छ । न राजनीतिक पार्टीले भनिरहेका छन् । यसलाई यो ठीक भयो भन्ने ढंगले जुन कुरा अएको छ नि यसले झन् विस्तारो विस्तारो अब यो चाहिँ हामी पूरै देशहरूमा कम्युनिस्टले देश चलाएको ठाउँमा जुनखालको हामीले घटनाहरू देख्थ्यौँ त्यही घटनाहरू नेपालमा करीव करीव दोहोरिने संकेतहरू देखिन थालेका छन् ।

अब विस्तारै घटना बढ्दै जान्छ । कुटपिट बढ्दै जान्छ । राज्य संरक्षित हुन्छ । एकातिर कानून बनाएर राज्यको स्रोत साधानबाट गर्छ । यो यतातिर नेपाली समाजलाई डोर्‍याउन खोजियो है भन्ने संकेतहरू प्रस्टसँग देखियो । हामी त डे वानबाट यसका विरुद्ध बोल्ने, लड्ने सबै कुरा गरिरहेका छौँ । थुप्रै नागरिकलाई कांग्रेसको कुरा हो भन्ने लग्यो । कांग्रेसलाई भन्ने लाग्यो । कांग्रेस–कम्युनिस्ट एकै हुन् भन्न थाले । बल्ल मलाई लाग्छ सबैलाई के कुराको रियलाइज भएको छ भने अहिले नेपालका राजनीतिक दलहरू सबै एकै हुन् भन्ने बेला होइन ।

अहिले नेपालमा एउटा निर्वाचित सरकार छ । त्यो सरकारले बैध कामभन्दा पनि अबैध काम आफू गर्न थाल्यो, आफ्ना मानिसहरूलाई गराउन थाल्यो । त्यसका विरुद्ध लडेनौँ भने अहिले । त्यसलाई अहिले रोकेनौँ भने यो यसरी झाँगिएर र बढेर जान्छ कोही पनि बाँच्नेवाला छैन । मलाई लाग्छ सबैले यो कुरालाई महशुस गर्न थाल्नुभएको छ । त्यही महशुस गर्ने मानिसलाई कांग्रेससँग एकाकार गर्ने एउटा शक्ति निर्माण हुन्छ ।

अभिव्यक्ति स्वतन्त्रताका लागि कांग्रेसले सडक र सडकमा के गर्छ ?

यस्तो छ । यसलाई एकीकृत नगरिकन शक्ति निर्माण हुँदैन । संसदमा त हामी जहिले पनि अल्पमतमा रहन्छौँ । किन कि बहुमत हुनेले सरकार बनाउने हो । संसदको अल्पमतलाई क्षतिपूर्ति कसले गर्छ भने सडकले गर्छ । सडकमा आउनका निम्ती नागरिकहरू आउने हो । त्यहाँ पार्टी पंक्ति परिचालित हुनुपर्छ । सडकलाई संसदसँग एकाकार गर्ने कुरा कांग्रेसको कुरा रहनुपर्छ ।

तपाईले कांग्रेसको बैठकमा भित्र एउटा कुरा, बाहिर अर्को कुरा गर्नु हुन्छ भन्ने आरोप छ नि हो ?

मैले भित्र, बाहिर, दायाँ, बायाँ, तल, माथि सबैतिर एउटाभन्दा अर्को कुरा गर्ने मेरो केही पनि बानी छैन । शैलीका सम्बन्धमा साथीहरूको कुरा हो भने म मलाई कुन ठाउँमा कुन शैलीमा कुरा गर्नुपर्छ भन्नेबारेमा राम्रोसँग हेक्का छ । पार्टीभित्र कुरा त छाडिदिनुस् न मेरो त नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा लिखित प्रस्तावहरू नै छन् नि । ती प्रस्तावहरू मैले लिखित रुपमा सार्वजनिक गरेको छु । त्यसैले यसका बारेमा कसैले भित्र एउटा कुरा, बाहिर एउटा कुरा गर्छ भन्छ भन्नै परेन ।

महँग, भ्रष्टाचार, करको वृद्धि भएको छ । यसबारेमा कांग्रेसले आफ्नो ठोस कार्यक्रम वा धारणा किन बाहिर ल्याउँदैन ?

यसका बारेमा हामीले छलफल गरिरहेका छौँ । पार्टी सभापति शेरबहादुर देउवाले सबै फोरमहरूमा यस विषयलाई लगातार उठाइ रहनु भएको छ । संसद चलेको भए यसलाई महत्वपूर्ण विषय बन्थ्यो । संसद पनि नभएको अवस्था छ । यो चाढवाढको कुरा मात्रै भयो । यो त निरन्तर रुपमा व्यवसाय गर्ने मन्छे व्यवसाय गर्न नसक्ने, खेती किसानी गर्ने मान्छे खेती किसानी गर्न नसक्ने । उद्योग चलाउने मान्छे, उद्योग चलाउन नसक्ने । सबैतिर सबै मान्छे थला पर्ने अवस्था बनेको छ ।

सत्तारुढ नेकपाले चाइनाबाट मान्छे आयात गरेर प्रशिक्षण लिएको छ । कांग्रेसले यो विषयलाई कसरी लिएको छ ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सबै कुरामा रित्तिसकेपछि अब के कुराले जनतालाई भ्रमित पार्ने कुराको खोज्दै जाँदै गर्दा उसले यो कुराले तरंगित गर्छ कि ? चीनको विकासबाट भोको भएको नेपालीहरूलाई दिग्भ्रमित गर्न सकिन्छ कि भन्ने सोँच मात्रै हो । होइन भने मलाई यो नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विचार शून्यताको अवस्थामा छ ।

यसलाई यसले उतार्छ, यसले त्राण दिन्छ भन्ने कुरामा रत्तिभरि भ्रम छैन । बरु मलाई के लाग्छ भने चीनको सरकार, चीनको पार्टीले भने यसलाई जति छिटो स्पष्ट गर्‍यो त्यति बढी नेपाल–चीनको सम्बन्ध अझै राम्रो हुन्छ । हामी के चाहन्छौँ भने नेपालमा जुनसुकै राजनीतिक दलसँग चीनको समान रहोस् ।

नेपालमा जुनसुकैको सरकार आए पनि चीनको व्यवहार एउटै रहोस् । जुन कुरा अहिलेसम्म रहेको छ । र, यो कुरालाई बिटुलाउने कुरालाई नेकपाले गरेको छ । नेकपाले यसलाई बिटुलाउने प्रयास गरेको छ भन्ने कुराको बारेमा चीनको पार्टी र चीनको सरकारले पनि हेक्का राखोस् कुरा हामी चाहन्छौँ ।

Published : Friday, 2019 October 4, 10:14 am

फेसबुकबाट तपाईको प्रतिक्रिया