प्रेस र पत्रकारमाथिकाे ज्यादती राेक्न कांग्रेस नेता गिरीको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री दीपक गिरीले पत्रकारहरूको सुरक्षालाई लिएर चिन्ता जनाएका छन् ।

बिहीबार प्रेस नाेट जारी गरेर नेता गिरीले नेपाल प्रेस युनियनका महासचिव एवम् हाम्राकुरा डटकमका सम्पादक अजयबाबु सिवाकोटीको सुरक्षालाई लिएर चिन्ता जनाएका हुन् ।

वर्तमान दुईतिहाइको बलियो कम्युनिस्ट सरकारले प्रेसमाथि बन्देज लगाउनेदेखि विभिन्न बहानामा अभिव्यक्ति स्वतन्त्रतामाथि निरंकुश बन्दै गएको भन्दै उनले यस्ता हर्कत रोक्न चेतावनी दिएका छन् ।

‘पत्रकारहरूको सुरक्षामा राज्यले विशेषध्यान दिनुपर्छ’, उनले भनेका छन्, ‘सभामुख जस्तो व्यक्तिको गलत कुराको सत्यतथ्य बाहिर ल्याउने पत्रकारलाई सत्तारुढ नेकपाका कार्यकर्ताले ज्यानमार्ने धम्की दिनु गम्भीर विषय हो ।’

नेता गिरीले सिवाकोटीलाई राजनीतिक पूर्वाग्रह वा अन्य गलत आरोप लगाएर दुःख दिने काम भयो भने नेपाली कांग्रेस चुप लागेर नबस्ने बताए ।

नेपाली कांग्रेसका नेता गिरीले दुईतिहाइ सत्ताको आडमा जेपनि गर्न छुट छ भन्ने मान्यताबाट मुक्त हुने नेकपाका नेता र सरकारलाई सचेत गराएका छन् ।

नेता गिरीले कृष्णबहादुर महराको नाम नलिएर सभामुख जस्तो गरिमामय पदमा बसेर आफ्नौ पदीय हैसियत भुल्नेलाई हदैसम्मको कारबाहीको माग पनि गरेका छन् ।

Published : Thursday, 2019 October 3, 10:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया