ओलीले राम्रा नेता राेजे, दाहालले परिवार खाेजे

काठमाडौं । औपचारिक रुपमा बिहीबारदेखि एमाले र माओवादी केन्द्र भन्ने पार्टी समाप्त भएका छन् । राष्ट्रिय सभागृहमा भएको पार्टी एकीकरण भएको दिनदेखि यी दुबै पार्टी अस्तित्वमा नभएपनि पार्टी समायोजनको काम बाँकी रहेकाले धेरैलाई विभिन्न आशंका थियो ।

तर, सोमबार राति केन्द्रीय सचिवालयबाट भएको निर्णय र जिम्मेवारी बाँडफाँटले एमाले र माओवादी केन्द्र भन्ने पार्टी समाप्त भएका हुन् ।

पार्टी मिलेको बाहिर देखिएपनि सारमा दुबै पार्टीभित्र असन्तुष्टि छन् । एमालेमा लगेर माओवादी केन्द्र नामक पार्टीलाई मिसाएका पुष्पकमल दाहालले आफूलाई सधैँ केन्द्रमा राखे । उनले माओवादी पार्टीको नेतृत्व सम्हालेदेखि अन्तिमसम्म छाडेनन् । नेतृत्व छाड्ने अवस्था आउँदा पार्टीलाई एमालेमा लगेर बिलय गराए ।

उनी अरु नेताहरूमा नेतृत्व जाओस् भन्ने पक्षमा कहिल्यै पनि देखिएनन् । यो कुराको पुष्टि सोमबार राति भएको समायोजनको भागबण्डा र दाहालले पूर्वमाओवादी नेताहरूलाई दिएको जिम्मेवारीले प्रष्ट बनाएको छ । दाहालले कार्यकारी जिम्मेवारी पाएका छन् । खुसी छन् ।

आफ्नी बुहारी बिना मगरलाई समेत विभागको संयोजक बनाउन तयार भएका दाहालले माओवादी पृष्ठभूमि भएका असल र राम्रा नेताहरूलाई जिम्मेवारी दिन ठानेनन् । उनी सानो गुट र घरपरिवारभन्दा बाहिर जानै सक्दैनन् भनेर पूर्वमाओवादीभित्र खैलाबैला भएको छ । बिना मगर खानेपानी मन्त्री पनि छिन् ।

दाहालको यही हर्कतले गर्दा उनलाई साथ दिँदै आएका नेताहरू समेत बिच्किएका छन् । दाहाललाई भन्दा पनि एमाले पृष्ठभूमि भएका नेताहरूको शरणमा जान तयारी अवस्थामा छन् ।

दाहालभन्दा केपी ओली राजनीतिक रुपमा परिपक्क देखिएका छन् । ओलीले आफू निकटका नेताहरूलाई बलियो पर्खाल नै बनेर संरक्षण गरेका छन् । त्यति मात्रै होइन आफूसँग रिसाएर बाहिर गएका बामदेव गौतम, झलनाथ खनाल जस्तो नेताहरूलाई पनि तान्न सफल भएका छन् ।

त्यति मात्रै होइन ओलीले एमाले पृष्ठभूमि भएका युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल जस्ता शक्तिशाली बिचार भएका नेताहरूलाई पनि संरक्षण गरेका छन् । यसरी भन्ने हो भने दाहालभन्दा ओली धेरै परिपक्व नेताका रुपमा देखिएका छन् ।

ओलीले आइतबार संसदमा सम्बोधन गर्ने बेला आफू नै पाँच वर्ष प्रधानमन्त्री बन्ने भनेर अभिव्यक्ति दिएका छन् । ओलीको यो अभिव्यक्तिले दाहाललाई छटपटाहट भएको छ ।

मिडियामा दाहालले लिक गराएको सहमति कार्यान्वयन नहुने हो भन्ने आशंक बढेर गएको छ । दाहालले ओलीलाई जनकपुरधामबाट जवाफ दिएका छन् । उनले सरकारको नेतृत्व परिवर्तन हुन्छ भनेका छन् ।

दाहालको यो अभिव्यक्तिलाई ओलीले पेलेरै लैजाने संकेत देखाएका छन् । ओलीले त्यति मात्रै होइन कि अबको निर्वाचनपछि ‘म कुनै पनि पद लिँदैन’ भनेका छन् । शक्ति र पदमा आशक्त दाहाललाई ओलीका अभिव्यक्तिले बाणले जस्तै घोँचेको छ ।

ओलीको अभिव्यक्ति र पेलानबाट आजित बनेका दाहालले ‘पार्टी एकता नगरेको भए धेरै बिकल्प हुने थियो, अब त्यो बिकल्प पनि छैन’ भनेर पीडा पनि पोखेका छन् । आफूभन्दा अरुले पार्टी चलाउन सक्दैन भन्ने ठानेका दाहालले अबका दिनमा पछुताउनेभन्दा अर्को बिकल्प छैन । ओलीको स्वास्थ्यले साथ दिँदासम्म दाहालको ‘दाल’ गल्नेवाला छैन । नेकपामा ओलीको वरीपरी राजनीति घुम्नेछ ।

दाहालले खुमलटारमा गुटको बेला गर्दैमा राजनीति उलटपुलट हुने अवस्था छैन । राष्ट्रिय र अन्तर्राष्ट्रिय माहोल दाहाललाई भन्दा पनि ओलीकै पक्षमा देखिएको छ । भारतीयहरू पनि अहिले नै दाहाललाई अगाडि ल्याउनेभन्दा पनि ओलीलाई नै साथ दिएर आफू अनुकूलका निर्णय गराउँदै जाने योजनामा देखिएका छन् ।

भारतीय विदेश सचिव एस जयशंकरको नेपाल भ्रमण पनि ओलीको फेबरमा देखिएको छ । ओली आउट हुने अवस्था भयो भने पनि दाहालले प्रधानमन्त्री हुन पाउने सम्भावना निकै कम छ । दाहाल प्रधानमन्त्री बन्ने अवस्था आयो भने पूर्वएमाले पृष्ठभूमि भएका नेताहरूलाई अगाडि सार्ने सम्भावना निकै छ । यो कुरा दाहाललाई पनि राम्रोसँग जानकारी छ ।

Published : Friday, 2019 August 23, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया