लैनचौरसँग कोइराला परिवारको सामूहिक गोप्य भेट, कांग्रेसभित्र बबण्डर

काठमाडौं । पार्टीभित्र ठूलो विवाद सिर्जना गरेर आरोप प्रत्यारोप भइरहेका बेला नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालासहितका नेताहरूले नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीसँग गोप्य भेटवार्ता गरेका छन् ।

काठमाडौंको दरबारमार्गस्थित होटेल अन्नपूर्णमा महामन्त्री डा.कोइरालासहितका नेताहरूले राजदूत पुरीसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा उनीहरूले मदिरा समेत पिएका थिए । मदिरा नपिउनेले जुस खाएका थिए ।

स्रोतका अनुसार भारतीय राजदूत पुरीले जुस वा मदिरा केही पनि खाएका थिएनन् । राजदूत पुरीसँग भएको नेपाली कांग्रेसका नेताहरूको सामूहिक भेटले पार्टीभित्र बबण्डर मच्चिएको छ ।

नेपालका लागि भारतीय राजदूत पुरीसँग भेटवार्तामा नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादव, केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजाल, अमेरिकाको लागि नेपाली पूर्वराजदूत डा.सुरेशचन्द्र चालिसेलगायतका नेताहरू उपस्थित रहेका थिए ।

तीन दिन अगाडि एउटा कार्यक्रममा सहभागी भएका उनीहरूले राजदूत पुरीलाई सामूहिक रुपमा भेटेको उच्च स्रोतले जनाएको छ ।

राजदूत पुरीले नेपाली कांग्रेसका नेताहरूसँग पार्टीभित्रको आन्तरिक विवाद, दुईतिहाइको सरकारका कामकारबाही र भावी राजनीतिका बारेमा जिज्ञासा राखेको स्रोतको भनाइ छ ।

नेपाली कांग्रेसका नेताहरूले राजदूत पुरीलाई सभापति शेरबहादुर देउवाले पार्टी कब्जा गरेर तहस नहस बनाएको बताएको स्रोतको दाबी छ ।

उनीहरूले राजदूत पुरीसँग दुईतिहाइको बलियो सरकारले पनि केही गर्न नसकेको बताएका थिए ।

भारतले नेपालको राजनीतिलाई पहिला जस्तो देखिने गरेर हस्तक्षेप नगरे पनि मौका मिल्दा नेताहरूसँग भेटवार्ता गरेर जानकारीहरू लिने गरेको छ ।

Published : Friday, 2019 August 2, 9:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया