पौडेल र गच्छदारका कुराले कांग्रेस बैठकमा सन्नाटा, नेताहरूलाई चित्त बुझ्याे

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई मिलाएर लैजान सभापति शेरबहादुर देउवालाई सुझाव दिएका छन् ।

सानेपास्थित पार्टी मुख्यालयमा मंगलबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै पौडेलले निर्वाचनमा भएको पराजयको जिम्मेवारी सबैले लिनुपर्ने बताएका हुन् । निर्वाचनमा पार्टी पराजित भएपछि आफूले सभापतिको राजीनामा नमागेको उनले बताए ।

वरिष्ठ नेता पौडेलले सभापतिलाई हारको नैतिक जिम्मेवारी लिनमात्रै भनेको बताए । ‘मैले शेरबहादुरजीको राजीनमा मागेको होइन’, पौडेलको भनाइ उदृत गर्दै स्रोतले भन्यो, ‘राजीनामा अरुले मागेका हुन् । मलाई नचाहिने आरोप लगाइरहने ?’

‘निर्वाचनमा पार्टी हार्‍यो, जिम्मेवारी लिनुस् भनेको हो । राहुल गान्धीले पनि त पार्टी हारेपछि राजीनामा दिए’, पौडेलले भने, ‘हारको जिम्मा लिए । पार्टीमा अर्को अध्यक्ष बन्नुपर्छ भने । पार्टीलाई माथि लैजाने सोँचे ।’

वरिष्ठ नेता पौडेलले सभापति देउवासँग पार्टीभित्र भाग नखोजेको बताए । ‘मलाई भाग खोज्यो भन्छन् । मैले त भेटेरै भनेको हुँ । मलाई ४० प्रतिशत चाहिएन भनेर’, उनले भने, ‘उताउति नभनेर मिलाएर गर्नुस् । सबैलाई मिलाउनु भनेर मैले भनेकै हुँ ।’

नेता पौडेलले विधान बमोजिम संक्रमणकालीन व्यवस्था लागू गरेर पार्टीका अन्तरिम संरचना निर्माण गर्नुपर्ने र समयमै आगामी महाधिवेशनको कार्यतालिका ल्याउन पनि माग गरेका छन् ।

गत असार २२ गतेदेखि प्रारम्भ भएको केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा वरिष्ठ नेता पौडेल शुरुमै बोलेका थिए ।

उपसभापति विजयकुमार गच्छदार, महामन्त्री पूर्णबहादुर खड्का, कोषाध्यक्ष सीतादेवी यादव, सहमहामन्त्री डा. प्रकाशशरण महत र केन्द्रीय सदस्य शिवप्रसाद हुमागाइँले आ–आफ्नो विचार व्यक्त गरेका थिए ।

उपसभापति गच्छदारले पार्टी समायोजनमा भएको सहमतिअनुसार आफूलाई भाग दिनुपर्ने बैठकमा माग गरे । ‘पार्टी समायोजन भएको लामो समय भइसक्यो’, उनले भने, ‘पूर्वसहमति अनुसार हाम्रा साथीहरूलाई समायोजन गर्नुपर्छ ।’

केन्द्रीय कार्यसमितिको बैठक साउन १५ गते बुधबार दिनको ३ बजे पुनः बस्नेछ ।

Published : Tuesday, 2019 July 30, 10:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया