दरबारमार्गको क्लव डेजाभूका मालिक पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंको दरबारमार्गमा रहेको क्लब डेजाभूका सञ्चालक मनोज श्रेष्ठलाई पक्राउ गरेको छ ।

हङकङबाट काठमाडौं आएका श्रेष्ठलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेको इन्टरपोलको माइन्ड उपकरणको सहयोगमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले श्रेष्ठविरुद्ध काठमाडौं प्रहरी परिसर, टेकुको अनुरोधमा १५ माघ २०७५ मा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल)ले डिफ्यूजन नोटिस जारी गरेको जानकारी दिए ।

माइन्ड डिभाइसले इन्टरपोलमा नोटिस जारी भएका फरार अपराधी, संदिग्ध व्यक्तिको पहिचान, चोरी वा हराएका पासपोर्ट र ट्राभल डकुमेन्टको प्रयोग गरी आवतजावत गर्ने मानिसको नियन्त्रण गर्न सहयोग गर्छ । त्यसकै आधारमा श्रेष्ठ विमानस्थलमा पक्राउ परेका हुन् ।

काठमाडौं प्रहरीका अनुसार श्रेष्ठले डेजाभुको अध्यक्ष पदमा रहँदा कम्पनीमा लगानी गर्न विश्वराम श्रेष्ठबाट २ करोड रुपियाँ लिएका थिए । त्यसवापत उनले शेयर दिने बताएका थिए । सहमति अनुसार शेयर नदिएपछि उनले रकम फिर्ता मागे ।

श्रेष्ठले २ करोड बराबरको चेक दिए पनि बाउन्स भएपछि काठमाडौं प्रहरीमा बैंकिङ कसूरको उजुरी दर्ता भएको थियो । उनी सम्पर्कमा थिएनन् ।

यसअघि २८ मंसिर ०७४ मा चर्चित डीजे मार्समेलोलाई ल्याउने भन्दै टिकट बिक्री गरे पनि उनी नआएपछि क्लबमा तोडफोड भएको थियो ।

आठ जना सञ्चालकविरुद्ध ठगी आरोपमा मुद्दा चलेको थियो । हाल जिल्ला अदालत, काठमाडौं त्यो मुद्दा विचाराधीन छ । घटनापछि नै विश्वरामले २ करोड लगानी गरेको जनाइएको छ ।

Published : Tuesday, 2019 July 30, 12:24 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया