‘दुइटा बाँदरले स्वमीको नाकै काटिदिए’ नामक कथाले बालुवाटारमा खैलाबैला

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता एवम् पूर्वसांसद विजय पौडेलले प्रधानमन्त्री खड्गप्रसाद ओलीको सचिवालयप्रति कठोर टिप्पणी गरेका छन् ।

नेता पौडेलले नेकपाका अध्यक्ष ओलीप्रति लक्षित गर्दै शुक्रबार लेखिएको लोककथा सामाजिक सञ्जालमा भाइरल बनेको छ । लोककथा आफ्नै पार्टी नेतृत्वप्रति रहेको कमेन्टमा लेखिएका छन् ।

ओलीको सचिवालयमा बसेका सल्लाहकार र सहयोगीका कारण पार्टीलाई नोक्सानी पुगेको उनको भनाइ छ । नेता पौडेलले ओलीको नाम लोककथामा कतै लिएका छैनन् ।

तर, नेकपाका वर्तमान अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीलाई सचिवालयमा रहेका व्यक्तिहरूले नै समाप्त पारेको पौडेलको कटाक्ष रहेको छ । प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाललाई लोककथाले केन्द्रमा राखेको छ । रिमालले नै ओलीसँग पार्टीकै नेता तथा कार्यकर्ताहरूसँग भेट्न नदिएको भनेर आलोचना हुँदै आएको छ ।

ओलीले सचिवालयमा रहेका रिमालसहितका सीमित व्यक्तिहरूको घेरामा रहँदा र उनीहरूको मात्रै कुरा सुन्दा पार्टी तथा सरकार बद्नाम हुँदै गएको टिप्पणी हुँदै आएको छ । नेकपाका नेता पौडेलले ओलीलाई सानो घेराभित्र मात्रै नबस्ने सुझाव दिएका छन् ।

नेकपाका नेता पौडेलले भनेका छन्, ‘एकादेशमा एक गुरू थिए । उनले तालिम दिएर राखेका दुइटा बाँदर थिए जो अह्राएको काम गर्थे । उनीहरू धेरै स्वामिभक्त थिए ।’

‘एकदिन गुरूले भने, ए केटा हो ! म यो पिपलको छहारीमा आराम गर्छु । तिमीहरूले मेरो वरिपरि आउने झिँगा धपाउनु है ।’

‘गुरू मस्तसंग निदाए । एउटा झिंगो घरिघरि गुरूको नाकमा आएर बस्न थाल्यो । शुरुशुरुमा बाँदरहरूले स्याउलाले झिँगा धपाइरहेका थिए । कति गर्दा पनि झिँगो नियन्त्रण भएन, जति थपडी बजाए पनि मार्न सकिएन’, लोककथामा पौडेलले भनेका छन् ।

‘त्यसपछि स्वामिभक्त बाँदरहरूले नजिकै रहेको तरवार उठाएर झिँगोलाई काट्न भनी नाकमा बजारे । झिँगो त उडेर गयो, गुरूको नाकै काटियो’, नेकपाका नेता पौडेलले ओलीलाई आफ्नो सचिवालयबाट बच्न सुझाव दिँदै भनेका छन्, ‘बुद्धि नभएका स्वामिभक्तहरूबाट जोगिन पर्छ है ।’

नेकपाका नेता पौडेलले आफूले सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस कसैप्रति लक्षित नरहेको बताएका छन् । रिपब्लिका दैनिकमा समाचार आएपछि नेता पौडेलले ‘यो आम कथा हो, कसैप्रति लक्षित छैन’ भनेर प्रतिक्रिया पठाएका छन् ।

Published : Friday, 2019 July 26, 3:10 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया