‘अरिँगाल’हरूको चपेटामा पूर्वराजा, बाहिर आयो बास्तविकता

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको निजी सचिवालले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनलाईसीस वींग्स (रअ)का प्रमुख सामन्तकुमार गोयलसँग भेट नभएको जनाएको छ ।

पूर्वराजा शाहका सहयोगी फणीराज पाठकले शुक्रबार बिहान विज्ञप्ति जारी गरेर ‘रअ’का कुनै पनि व्यक्ति वा प्रतिनिधिसँग भेट नभएको जनाएका छन् ।

पाठकले ‘रअ’का प्रमुखले पूर्वराजा ज्ञानेन्द्र शाहलाई समेत भेटघाट गरेको भनी केही अनलाईन मिडियाबाट समाचार प्रकाशन गरिएको प्रति आपत्ति जनाएका हुन् ।

पूर्वराजा शाहका निजी सहयोगी पाठकले ‘रअ’सँग जोडिएर आएका समाचार कपोलकल्पित, मनगढन्त र राष्ट्रको गरिमा घटाउने प्रकृतिको रहेको जनाएका छन् ।

‘पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्रवीर विक्रम शाहदेवबाट मध्यरातमा भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखलाई भेटेको भन्ने केही अनलाइन पत्रिकामा छापिएका खबर पूर्णतया झूठो भएको जानकारी गराउन चाहन्छु’, पूर्वराजाका सहयोग पाठकले विज्ञप्तिमा भनेका छन् ।

‘यस्ता कपोलकल्पित, मनगढन्त र राष्ट्रको गरिमा घटाउने समाचारले नेपाल र नेपालीको गर्व र सम्मानमा ठेस लाग्ने भएकोले यस्ता समाचार संप्रेषण गरेर पत्रकारिताको धर्म र समाजप्रतिको दायित्व नबिर्सन अनुरोध गर्दछु’, उनले भनेका छन् ।

पूर्वराजा शाहसँग ‘रअ’का प्रमुख गोयलले गोप्य भेट गरेको भन्दै केही अनलाइनहरूले समाचार प्रकाशित गरेपछि निर्मल निवासले ती समाचारको खण्डन गर्दै समाचारमा सत्यता नरहेको जनाएको हो ।

सत्तारुढ नेकपा निकटका केही अनलाइनहरू पूर्वराजा शाह र ‘रअ’का प्रमुख गोयलबीच भेटवार्ता भएको भन्दै चरित्र हत्या हुने गरेर समाचार सम्प्रेषण गरेका थिए ।

बरु भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख गोयलले प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाललाई गोप्य रुपमा भेटेका थिए ।

बालुवाटारले ओली र गोयलबीच भएको भेटवार्तालाई लुकाएको छ । दाहालले गोयलसँग भएको भेटवार्तालाई अस्वीकार गरेका छैनन् ।

केही अनलाइनहरूले ‘रअ’का प्रमुख गोयलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेको भनेर समाचार लेखेका छन् । देउवाले ‘रअ’का प्रमुखलाई भेट नगरेको उनको निजी सचिवालयले जनाएको छ ।

देउवाको निजी सचिवालयका एकजना सहयोगले भने, ‘भेट् भएको छैन । भेट हुँदा लुकाउने कुरा हुँदैन । कसले के लेखे हामीलाई थाहा भएन । भेट नभएको कुरालाई खण्डन गर्नु आवश्यक ठानेनौँ ।’

Published : Friday, 2019 July 26, 11:58 am

फेसबुकबाट तपाईको प्रतिक्रिया