कांग्रेस नेता सिटौलाको आलोचना सुनेपछि ओली मञ्चमै मलिन भए

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सुविधाजनक दुई तिहाइको बहुमत हुँदा पनि वर्तमान सरकारले काम गर्न नसकेको भन्दै आलोचना गरेका छन् ।

मदन भण्डारी प्रतिष्ठानले शनिबार काठमाडौंको राष्ट्रिय सभामा आयोजना गरेको विचार गोष्ठि कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस नेता सिटौलाले बलियो सरकार हुँदा हुँदै पनि दुई वर्षभित्र उल्लेखनीय काम गर्न नसकेको बताए । वर्तमान सरकारबाट जनताले धेरै सकात्मक अपेक्षा गरेको अवस्थामा कम्युनिस्ट सरकारले निराश बनाएको उनले बताए ।

‘सरकार बलियो छ । सरकार बनेको दुई वर्षभित्र । यो–यो काम भयो भनेर भन्ने अवस्था छ’, उनले भने, ‘चाहेमा नेकपाको यो बलियो सरकारले धेरै काम गर्न सक्छ । संविधानले चाहे बमोजिम काम गरेर अगाडि बढ्न सक्छ । देशले प्रगति र समृद्धि पाओस् ।’ नेपाली कांग्रेसका नेता सिटौलाले वर्तमान सरकारको बुद्धि समयमा पलाओस् भनेर सुझाव पनि दिएका छन् ।

संविधानअुनसार वर्तमान सरकारलाई कसैले पनि चलाउन नसक्ने भन्दै कांग्रेस नेता सिटौलाले दुई वर्षसम्म सरकारविरुद्ध अविश्वासको प्रस्ताव पनि राख्न नमिल्ने प्रावधान आफूहरूले राखेको बताए । ‘दुई वर्षसम्म कसैले पनि अविश्वासको प्रस्ताव ल्याउन पाउँदैन । सरकार दुई वर्षसम्म निरन्तर रहन्छ’, उनले भने ।

नेता सिटौलाले नेपाली कांग्रेस रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहेको बताए । ‘हामी रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्न चाहन्छौँ’, उनले भने, ‘हामी विरोधका लागि विरोध गर्दैनौँ । सहयोग गर्न चाहन्छौँ ।’

नेपाली कांग्रेसका नेता सिटौलाले सबै क्षेत्रले बुझ्न सक्ने गरेर काम गर्न कम्युनिस्ट सरकारलाई आग्रह पनि गरे । ‘विदेशमा हजारौँ युवा अरबको खाडीमा गर्मीमा काम गरिरहेका छन्’, उनले भने, ‘दिनदिनै विदेशबाट लासहरू आइरहेका छन् । ती युवाहरूको भावना र मागलाई यो सरकारले सम्बोधन गर्ने गरेर कार्यक्रम ल्याउनुपर्छ ।’

सिटौलाले देशमा जनताको त्यागले ल्याएको प्रजातन्त्रलाई दुरुपयोग गर्न नमिल्ने बताए ।

नेपाली कांग्रेसका नेता सिटौलाले बोल्दै गर्दा मञ्चमा रहेका नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओली र नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ध्यान दिएर सुनेका थिए ।

सिटौलाले सरकारको आलोचना गरेपछि प्रधानमन्त्री ओलीको अनुहार मलिन देखिएको थियो । ओलीले नेता सिटौलाका भनाइहरूले चित्त दुखाएका थिए । आफूले कार्यक्रमलाई सम्बोधन गर्दै गर्दा नेपाली कांग्रेसको आलोचना गरेका थिए ।

Published : Saturday, 2019 June 29, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया