राजकिशोर यादवको प्रश्न, ‘इमिग्रेशन कसको कन्ट्रोलमा छ ?’

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता एवम् सांसद राकिशोर यादवले अमेरिकनसहित विदेशी नागरिकलाई इमिग्रेशनबाट किन फर्काएको हो भनेर गृह मन्त्रालयसँग जवाफ माग गरेका छन् ।

संसदको शुक्रबारको बैठकमा शुरुमै समय लिएर बोल्दै सांसद यादवले प्रश्न गर्दै भने, ‘अमेरिकी र विदेशी नागरिकलाई बिना कारण कसरी फर्कायो ? यो के हो ? त्यो इमिग्रेशन कसको कन्ट्रोलमा छ ?’

‘कसको निर्देशनमा चलिरहेको छ । सदनलाई त्यो जानकारी हुनुपर्छ’, उनले भने, ‘यसरी हाम्रो विदेश नीतिमाथि हाम्रो सुरक्षा संयन्त्रमाथि बारम्बार अरु देशका राजदूत र अरु देशका प्रतिनिधिहरूले सवाल उठाइ रहेका छन् ।’

‘नेपाल सरकारको लागि नेपाल राज्यका लागि किमार्थ राम्रो होइन । राम्रो संकेत होइन । यो अत्यन्तै सम्वेदनशील विषय हो’, राजपाका नेता एवम् सांसद यादवले भने, ‘गृह मन्त्रालयले नेपाल र नेपालीको हितमा काम गर्नुपर्छ । कसैको खटन–पटनमा कसैको निर्देशनमा खटाएको काम गर्दै गयो भने हाम्रो विश्वसनीयता गुम्छ ।’

राजपाका नेता समेत रहेका यादवले जेलमा रहेका रेशमलाल चौधरीलाई नेल र हत्कडी लगाएर उपचार गरिएको विषयमा गम्भीर आपत्ति जनाए ।

‘प्रधानमन्त्रीजीले रेशमलाल चौधरीलाई नेल र हत्कडी लगाएर उपचार गराउने प्रहरी, कर्मचारीलाई कारबाही गर्न निर्देशन दिएको सुन्न पाइयो’, उनले भने, ‘कुन कर्मचारी कारबाहीमा परे जानकारी पाउँ ।’

सांसद यादवले वर्तमान सरकारले जुन प्रकारको निर्णय गर्दै गएको छ त्यसले जनतामा निरासा र कौतुहलता छाएको बताए । ‘यो राज्य सबैको हुनेछ भन्ने आशा थियो । दुभाग्र्य सरकारका क्रियाकलाप हेर्दा एकल जातीय र केन्द्रिकृत कार्य गर्दै आएको छ’, उनले भने, ‘जुन प्रकारको निर्णय आउँदै छ यसले राम्रो सन्देश दिएको छैन ।’

उनले भने, ‘समाजमा न्याय पाउँछ भन्ने पलाएको थियो । त्यो आशामा कालो बादल मडारिएको छ ।’

सांसद यादवले भनेका छन्, ‘लोक सेवाको विज्ञापनका बारेमा कयौँ पटक कुरा उठ्यो । संविधानको बर्खिलाप गर्ने मन्त्री, संविधान विपरित विज्ञापन गर्ने लोक सेवा आयोगको बारम्बार अभिव्यक्ति आइरहेको छ । त्यसले झन् समस्या ल्याइदिएको छ ।’

सांसद यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न पुनः माग गरेका छन् । ‘सभामुखको रुलिङ हुँदा पनि लाल आयोगको सार्वजनिक भएन । प्रतिवेदन सार्वजनिक नहुँदा आशंका बढेको छ’, उनले भने, ‘निर्दोष जनतालाई फसाउन लागेको छ । बाध्य भएर यो हाउस घेर्ने छौँ । सडकमा पनि जान बाध्य हुने छौँ ।’

Published : Saturday, 2019 June 29, 2:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया