प्रचण्डका सबै ज्वाइँ, छाेरीहरू र बुहारीलाई सरकारी सुविधा, कार्यकर्ताहरूकाे बेहाल

काठमाडौं । माओवादीले जनयुद्ध गर्दा गाउँका जनतालाई धेरै ठूलाठूला सपना देखाएको थियो । जनयुद्धका कमाण्डर पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबैलाई बराबरी देख्छन् भन्ने थियो । तर, प्रचण्डको व्यवहारले त्यो देखाउँदैन ।

माओवादी पार्टीलाई पनि एमालेभित्र बिलय गराएका प्रचण्डले आफ्ना नेता तथा कार्यकर्ताहरूलाई संरक्षण गर्नुभन्दा पनि आफ्नै परिवारको सुरक्षामा ध्यान केन्द्रित गराएको माओवादी पृष्ठभूमि रहेका नेताहरूले बताउने गरेका छन् ।

आफ्ना परिवारका सदस्य र ज्वाइँहरूलाई कसरी सेटिङ गरेर सरकारी सेवा सुविधा दिलाउन सकिन्छ भनेर प्रचण्डले रातदिन सोँच बनाउने गरेको प्रचण्डका क्रियाकलापले देखाएका छन् ।

आफ्नो सचिवालयदेखि राजनीतिक नियुक्तिसम्म सबै स्थानमा प्रचण्डले आफ्नै परिवारका सदस्यलाई मौका दिन्छन् । त्यसपछि आफू निकटकालाई अवसर दिने गरेको प्रचण्डलाई आरोप छ ।

प्रचण्ड आफैले सुरक्षाको बहानामा झण्डै ६० जना सुरक्षाकर्मी राखेका छन् । प्रचण्डले लिने सुरक्षा सुविधा झण्डै एउटा पहाडी जिल्लाको सुरक्षा जत्तिकै छ । प्रचण्ड हिँड्दा अगाडि पछाडि पनि थुप्रै गाडीहरू दौडन्छन् ।

प्रचण्ड स्वयंले सरकारी सेवा सुविधा पनि टन्न लिएका छन् । सांसदका तलव भत्ता लिन्छन् । पूर्व प्रधानमन्त्रीको हैसियतमा पनि सुविधा लिने गरेका छन् ।

प्रचण्डले आफ्नै कान्छी छोरी गंगा दाहाललाई स्वकीय सचिव नियुक्त गरेका छन् । गंगाले संसद सचिवालयबाट तलव भत्ता बुझछिन् । गंगाको ठाउँमा जनयुद्ध लडेकै कार्यकर्तालाई अवसर दिएको भए प्रचण्डको आलोचना हुने थिएन ।

तर उनले छोरीलाई स्वकीय सचिव राखेर जनयुद्ध लडेका कार्यकर्ताको भावनामा ठेस पुर्‍याएको चर्चा हुने गरेको छ ।

गगांका पति एवम् कान्छा ज्वाइँ जीवन आचार्यलाई उपराष्ट्रपति नन्दबहादुर पुनको सल्लाहकारका रुपमा नियुक्त गरिएको छ । प्रचण्डका कान्छा ज्वाइँले पनि सरकारी नम्बर प्लेटको गाडी र तलव भत्ता खान्छन् । कान्छा ज्वाइँ दिनभरि आफ्नै व्यक्तिगत काममा हिँड्छन् ।

प्रचण्डले जेठा ज्वाइँ सागर केसीलाई सभामुख कृष्णबहादुर महराको स्वकीय सचिव बनाएका छन् । जेठा ज्वाइँ पनि सरकारी सेवा सुविधा र तलव भत्ता बुझ्न । सरकारी गाडीमा चढ्छन् ।

कान्छी बुहारी बिना मगर खानेपानी तथा सरसफाइमन्त्री छिन् । सांसद समेत रहेकी बिना मगरले पनि सरकारी सेवा सुविधा र तलव खान्छिन् । बिना मगरले मन्त्री र सांसद दुबैको दोहोरो सुविधा लिने गरेको उच्च स्रोतले जनाएको छ । तर, जेठी बुहारी सिर्जना त्रिपाठी भने कुनै पनि सुविधाबाट बञ्चित छिन् ।

बिना मगरलाई कञ्चनपुरबाट सांसदमा जिताउन प्रचण्ड आफैले ठूलो भूमिका खेलेका थिए । मन्त्री बनाउन प्रचण्डकी पत्नी सीता दाहालले भूमिका खेलेको स्रोतको भनाइ छ ।

माइली छोरी रेणु दाहाललाई प्रचण्डले भरतपुर महानगरपालिकाको मेयर बनाएका छन् । मत पत्र च्यातेरै भएपनि प्रचण्डले रेणुलाई मेयर बनाइ छाडेका हुन् । रेणुका पति एवम् माइला ज्वाइँ अर्जुन त्रिपाठी पत्नीको स्वकीय सचिव छन् ।

रेणुको सबै हर्ताकर्ता स्वकीय सचिव पति अर्जुन त्रिपाठी नै हुन् । छोरीलाई मेयर बनाउनकै लागि प्रचण्डले भरतपुरलाई महानगरपालिका बनाएको चर्चा भरतपुरमा छ ।

साकार दाहाल ‘प्रकाश’ चढ्दै आएको गाडी ठेकेदार शारदा अधिकारीका कामदार प्रकाश रायमाझीले चढ्दै आएका छन् । प्रकाश रायमाझीले प्रचण्डको परिवारलाई आवश्यक पर्ने सबै सामाग्री घरसम्म ल्याइदिन्छन् ।

प्रचण्डको परिवारलाई आवश्यक पर्ने समाग्री ल्याइदिन र सेवा गर्नका लागि ठेकेदार शारदा अधिकारीले नै प्रकाश रायमाझीलाई प्रचण्डको निवासमा राखिदिएको स्रोतले जनाएको छ ।

प्रचण्डले आफ्ना पार्टीका नेता तथा कार्यकर्ताहरूलाई राम्रो ठाउँमा कहिल्यै पनि अवसर नदिएको गुनासो गर्ने धेरै नेता तथा कार्यकर्ताहरू छन् । उनले सकेसम्म पार्टीभन्दा बाहिरका व्यक्तिहरूलाई अवसर दिएका थुप्रै उदाहरण छन् । जनयुद्धका बेला गरेको बाचा र प्रतिवद्धताहरू सबै प्रचण्डले भुलेको आरोप छ ।

प्रचण्डले विजयकान्त लाल कर्ण (डेनमार्क), अजय शर्मा र लक्की शेर्पा (अस्ट्रेलिया), राममणि पोख्रेल (बेल्जियम), महेश मास्के (चीन), कमानसिंह लामा (कोरिया), मायाकुमारी शर्मा (कतार)लाई राजदूत बनाए । सबै माओवादी थिएनन् । उनीहरूले मोटो रकम बुझाएर राजदूत पाएको आरोप माओवादी पृष्ठभूमि भएका नेताहरूको आरोप छ ।

अहिले फेरि महेश दाहाल (अष्ट्रेलिया)का लागि राजदूतमा सिफारिस परेका छन् । प्रचण्डको कोटाबाट दाहालले अष्ट्रेलियाको राजदूत हुने अवसर पाएका छन् ।

निर्वाचनका बेला महेश दाहाल नेपाली कांग्रेस छाडेर माओवादीमा प्रवेश गरेका थिए । प्रचण्डले पार्टीमा जनयुद्ध लडेका र साथ दिएका कसैलाई पनि राजदूतमा अवसर नदिएर भरखरै माओवादी बनेका कांग्रेसी दाहाललाई राजदूतमा सिफारिस गरेर सबैलाई चकित तुल्याइदिएका छन् ।

यसअघि पनि अष्ट्रेलियाको लागि नेपाली राजदूतमा प्रचण्डले लक्की शेर्पालाई सिफारिस गरेका थिए । मानव तस्करीमा परेपछि शेर्पालाई राजदूतबाट हटाइएको थियो ।

Published : Monday, 2019 June 17, 11:17 am

फेसबुकबाट तपाईको प्रतिक्रिया