पार्टीलाई एकताबद्ध बनाएरै अघि बढाउँछु : शेरबहादुर देउवा (तस्वीर)

चौघडा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउन आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने बताएका छन् । उनले पार्टीमा एकता भएन भन्नेहरूले पार्टीको अनुशासनलाई आत्मसात गर्नसके कुनै समस्या नरहेको स्पष्ट पारे ।

एकता चाहियो पनि भन्ने र पार्टीको नीति पनि मान्दिन भन्ने प्रवृत्तिले केही समस्या देखिएपनि एकताबद्ध पार्टी आफ्नो अभिष्ट रहेको देउवाको भनाई थियो ।

नुवाकोट जिल्लाको लिखु गाउँपालिकाको चौघडामा नेपाली कांग्रेस नुवाकोटको क्षेत्र नम्वर १ र २ ले संयुक्त रुपमा आयोजना गरेको क्षेत्रीय सभालाई संबोधन गर्दै कांग्रेस सभापति देउवाले पार्टीलाई पूर्ववत अवस्थामा फर्काउन सबैले आत्मकेन्द्रित राजनीति त्याग्नुपर्नेमा समेत जोड दिएका छन् ।

वर्तमान सरकार लोकतन्त्रका सबै अवयवहरूलाई समाप्त गरेर कम्युनिष्ट अधिनायकवाद स्थापना गर्ने गलत बाटोमा हिँडेकाले सरकारलाई सहि बाटोमा हिँडाउन पनि एकताबद्ध कांग्रेस आवश्यक रहेको देउवाले बताए ।

त्यसक्रममा कांग्रेस सभापति देउवाले वर्तमान सरकार जनबिरोधी र लोकतन्त्र बिरोधी रहेकाले सरकारका गलत क्रियाकलापहरूको भण्डाफोर गर्दै जनतामा स्थापित हुने गरी परिचालित हुन कार्यकर्ताहरूलाई निर्देशन समेत दिएका छन् ।

कार्यक्रममा कांग्रेस केन्द्रीय उपसभापति विजयकुमार गच्छदार, सह–महामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू डीना उपाध्याय, गुरु घिमिरे, बहादुरसिंह लामा, नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले पार्टीका सम्पूर्ण संरचनाहरूलाई जागृत गराउँदै आगामी निर्वाचनमा पार्टीको वर्चश्व पुनःस्थापित गर्न सक्ने गरी साँगठनिक क्रियाशीलताको बाटोमा पार्टीलाई अघि बढाईनुपर्ने धारणा व्यक्त गरेका थिए ।

कार्यक्रममा कांग्रेस जिल्ला कोषाध्यक्ष महेन्द्र थिङ, महासमिति सदस्य रमेशकुमार महत, महाधिवेशन प्रतिनिधि एवं जिल्ला समन्वय समिति नुवाकोटका सभापति सन्तमान तामाङ, महिला संघकी अध्यक्ष एवं प्रदेश सभा सदस्य कल्पना नेपाली, साविक क्षेत्र नम्वर १ का सभापति अर्जुन न्यौपाने, क्षेत्र नम्वर २ का सभापति ध्रुब श्रेष्ठ, ३ का सभापति जगतबहादुर तामाङ, क्षेत्रीय सचिव रामजी पौडेल, नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटका अध्यक्ष शिव देवकोटा, नेपाल बिद्यार्थी संघका अध्यक्ष उत्तम पाठक र तरुण दलका जिल्ला सचिव सुवन गिरी लगायतले पार्टीमा सम्पूर्ण एकता भएको आभाष नहुँदा कार्यकर्ताहरूमा उत्साह जाग्न नसकेकोले एकताबद्ध कांग्रेसको सन्देश प्रवाहित गर्न नेतृत्वसंग आग्रह गरेका थिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यद्वय अर्जुन नरसिंह केसी र डा.रामशरण महतले कार्यक्रमलाई बहिस्कार गरेका थिए । आफ्नै जिल्लामा भएको कांग्रेसको कार्यक्रममा सहभागी नभएर केसी र डा.महतले ठूलो असन्तुष्टि पोखेका छन् । (समाचार साैजन्य नुवाकाेट जागरण, शिव देवकाेटा)

Published : Saturday, 2019 June 15, 9:04 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया