सभामुखको बद्नाम गर्ने महिला ब्युटिसियन, थरीथरीका काण्डहरू

काठमाडौं । काठमाडौंको मुटु सुन्धारास्थित ‘काठमाडौं मल’ ब्यूटी पार्लर र फेसियल हाउस सञ्चालन गर्दै आएकी सुष्मा श्रेष्ठ (महरा)ले सभामुख कृष्णबहादुर महराको नाम भजाएर प्रहरी, प्रशासन र सर्वसाधारणहरूलाई धम्काउने गरेको रहस्य बाहिर आएको छ ।

कुनै सार्वजनिक कार्यक्रममा सभामुख महरासँग सँगै खिचिएको तस्वीरलाई सुष्माले आफ्नो फेसबुकमा राखेर ‘पारिवारिक जमघट’ भनेर व्यक्तिहरूलाई प्रभावमा पार्न खोजेकी छिन् । सुष्मा श्रेष्ठ (महरा) र उनका पति उज्वलजंग शाह सभामुख महरासँग कसरी परिवार बने भनेर धेरैले आश्चर्यका रुपमा लिएका छन् ।

तीन–चार वर्ष अगाडि काठमाडौं चाबहिलका गंगाबहादुर महराका छोरा सुमन महरासँग कान्छी पत्नीका रुपमा विवाह गरेकी सुष्माले सुमनको निधन भएपछि उज्वलजंग शाहसँग अर्को विवाह गरेकी हुन् ।

सुष्मा उज्वलजंग शाहकी पनि दोस्रो पत्नी हुन् । सुष्माले आफ्ना युट्युब अन्तर्वार्ता र प्रहरी समक्ष उज्वलजंग शाहलाई पति बताउने गरेकी छिन् । उज्वलले पनि सुष्मालाई घरमा भित्र्याएका छैनन् । डेरामा राखेका छन् । पहिलो पति सुमनले पनि सुष्मालाई डेरामै राखेका थिए ।

केही दिन अगाडि काठमाडौं महानगरीय प्रहरी टेकुमा सुष्माविरुद्ध परेको उजुरीका क्रममा छलफल हुँदा उजुरीकर्ता प्रकाशकुमार श्रेष्ठले एसपी अशोक सिंहकै सामू सुष्मा श्रेष्ठ र उज्वलजंग शाहको सम्बन्धका बारेमा प्रश्न उठाएका थिए । दुबै जनाले ‘हामी पति–पत्नी हौँ’ भनेपछि विवाह दर्ताको प्रमाणपत्र मागिएको थियो । तर, सुष्मा र उज्वलले विवाहको प्रमाणपत्र दिन सकेनन् ।

काठमाडौं जिल्लाको तत्कालीन गोकर्णेश्वर गाविस वडा नम्बर ७ ठेगाना राखेर लिइएको नागरिकता नं. १३५९४ मा सुष्माको नाम ‘सुष्मा श्रेष्ठ’ रहेको छ । नागरिकतामा सुष्माको बुबाको नाम श्रीकृष्ण श्रेष्ठ उल्लेख छ ।

केही समाचारहरूमा सुष्माले ‘सभामुख महराकी नातेदार पर्ने भएकै कारण…’ भनेर लेखेकी छिन् । सभामख महरासँग उनले नाम जोड्नुको कारण खोज्दै जाँदा सुष्माविरुद्ध थुप्रै प्रमाणहरू फेला पारेको छ । सुष्माले ‘महरा’ थरको लाभ लिँदै थुप्रै हर्कतहरू गरेको भेटिएको हो ।

त्यति मात्रै होइन सभामुख महराका एकजना छोराको नाम पनि दुरुपयोग गरेको तथ्य दैनिक नेपालले फेला पारेको छ । आवश्यक पर्‍यो भने त्यो प्रमाण पनि सार्वजनिक गरिनेछ ।

गुप्तचर विभागका डिएसपी समेत रहेका सुमन महराको निधनपछि उज्वलजंग शाहसँग दोस्रो विवाह गरेकी सुष्मा श्रेष्ठले किन र कसरी सभामुख कृष्णबहादुर महरासँग पटक–पटक नाम जोडेर प्रहरी, प्रशासन र व्यापारीहरूलाई धम्काउने गरेकी छिन् रहस्यमयी छ ।

‘द काठमाडौं मल व्यापार संघ’को अध्यक्ष रहेका बेला उट्पट्याङ र गलत हर्कत गरेकै कारण सुष्मालाई झण्डै एक महिना अगाडि सम्पन्न व्यापारीहरूको भेलाले सुष्मालाई अध्यक्ष पदबाट हटाएर नयाँ कार्यसमिति बनाएको छ । अध्यक्ष पदबाट अपदस्थ भएकी सुष्माले ‘म अध्यक्ष हुँ’भन्दै व्यापारी र प्रहरी प्रशासनलाई धम्काउँदै हिडेकी छिन् ।

काठमाडौं मलभित्रको भ्रष्टाचारको कुरा उठाउँदा आफूलाई आक्रमण हुने गरेको बताउने सुष्मा आफै भने राज्यलाई कर छली गरेर अतुकत सम्पत्ति आर्जन गरेको रहस्य बाहिर आएको छ ।

कर छलीको काण्ड थाहा पाएपछि दुई हप्ता अगाडि सुष्मासहितका व्यापारीहरूको ब्यूटी पार्लरमा वाणिज्य विभागले छापा हानेको थियो । विभागले छापा हान्ने क्रममा कर छलीको अभियोगमा ठाउँको ठाउँमै सुष्मालाई दश हजार जरिवाना भराएर बयानका लागि पत्र थमाएको थियो ।

आफू पनि सह–कोषाध्यक्ष रहेको कार्यसमितिले भ्रष्टाचार गरेको सुष्माको दाबी छ । सुष्माले संसदको सार्वजनिक लेखा समितिमा पनि काठमाडौं मलविरुद्ध उजुरी दिएकी छिन् ।

तत्कालीन माओवादी केन्द्रका सांसद लेखराज भट्टमार्फत लेखा समितिका सभापति भरतकुमार शाहलाई दवाव दिएर काठमाडौं मलविरुद्ध उजुरी दर्ता गराएकी सुष्माले व्यापारी र कर्मचारी सञ्चय कोषका व्यापारीहरूलाई धम्काउन ‘सभामुख महरा मेरो नातेदार भएकाले लेखा समितिमा उजुरी दर्ता गराएको हुँ’ भन्ने गरेकी छिन् ।

सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लसँग सुष्मा श्रेष्ठ (महरा)को नाता र सम्बन्धका बारेमा दैनिक नेपालले जिज्ञसा गर्दा उनले अनभिज्ञता प्रकट गरे । ‘सभामुख कृष्णबहादुर महराज्यूको नाम कसैले दुरुपयोग गरेको छ भने त्यो गलत कुरा हो । यस विषयमा सचिवालय गम्भीर छ’, उनले भने, ‘यदि सभामुख महराज्यूको नातेदार हुँ भनेर ठगी वा बद्नाम गर्न खोज्नेप्रति सरोकारवाला निकाय सचेत हुनुपर्छ । हामी पनि सचेत छौँ ।’

सुष्मा श्रेष्ठ (महरा)ले फेसबुकमा सभामुख महरासँग खिचेर राखेको तस्वीरका विषयमा प्रेस सल्लाहकार मल्लले भने, ‘सभामुखज्यू सबै नेपालीहरूको सभामुख हुनुहुन्छ । सुष्माजीले कुन प्रसंगमा कहिले त्यो तस्वीर खिच्नु भयो हामीलाई थाहा भएन । तर, त्यही तस्वीर देखाएर सभामुखज्यूको बदनाम गर्ने काम भयो भने सचिवालय चुप बस्दैन । एक्सनमा जान्छौँ ।’

सभामुख महराका प्रेस सल्लाहकार मल्लले कुनै पनि व्यक्ति वा समूहले सभामुखको नाम दुरुपयोग गरेर गलत मनसायले लाभ लिन खोज्यो भने सचिवालयमा सम्पर्क गर्न प्रहरी, प्रशासन र अन्य सबै सरोकारवालाहरूलाई आग्रह गरेका छन् । (दैनिक नेपाल डट कमबाट साभार)

Published : Wednesday, 2019 June 5, 1:00 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया