अमरेश सिंहको आशंका, ‘कम्युनिस्ट सरकार र बम फोडुवाबीच तालमेल त छैन ?’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद अमरेशकुमार सिंहले वर्तमान कम्युनिस्ट सरकारले आफ्नो आस्थासँग मेल नखानेहरूलाई झुठ्ठा मुद्धा लगाउने कार्य गरेको बताएका छन् ।

सोमबार बसेको संसदको बैठकमा गृहमन्त्री रामबहादुर थापाले बम विस्फोटन र जनधनको क्षतिका बारेमा जानकारी दिएपछि प्रतिप्रश्न गर्दै सिंहले राजनीतिक आस्थाका आधारमा मेल नखानेहरूलाई मुद्धा लगाउने गरेको बताएका हुन् ।

‘यो सरकारले झुट्टा मुद्धा लगाउने काम भएको छ । आफ्नो राजनीतिक आस्थासँग मेल नखानेहरूलाई आस्थाको आधारमा मुद्धा लगाउने गृहमन्त्रालयबाट जारी’, उनले भने, ‘पुलिस प्रशासनको मनोबल घटाउने नागरिक र बुद्धिजीवीहरूलाई के चिन्ता लागेको छ भने हिजो एउटा कम्युनिस्ट पार्टी यस्तै सदन र सरकारमा थियो ।’

‘त्यस बेला अर्को कम्युनिस्ट पार्टी बम फोडुवा थियो । पछि दुबै पार्टी एक भयो’, कांग्रेसका सांसद सिंहले भने, ‘अहिले पनि यही सहकार्य त भइरहेको छैन ?’

उनले भने, ‘एकातिर संसद र सरकारमा छ अर्को कम्युनिस्ट पार्टी छ नागरिकको आवाज दबाउनलाई, नागरिकको स्वतन्त्रता दबाउनलाई यो दुइटै कम्युनिस्ट पार्टीको मिन विन्दु त होइन ?’

‘एकातिर राज्य आतंक छ । राज्य आतंक किन भनियो भने निर्मला काण्ड हत्याको अहिलेसम्म हत्यारा पक्राउ परेको छैन । कारबाही भएको छैन’, कांग्रेसका सांसद सिंहले भनेका छन् ।

कांग्रेसका सांसद सिंहले भने, ‘सरकारमा रहेको कम्युनिस्ट पार्टी र अहिले बम पड्काउँदै आएको पार्टीबीच मिलन त छैन ? आशंका जन्मिएको छ ।’

तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पार्टी एकीकरणका बारेमा गम्भीर आशंका जनाएका कांग्रेस नेता सिंहले वर्तमान कम्युनिस्ट सरकार र अहिले सडकमा बम पड्काउँदै आएको पार्टीबीच कतै तालमेल त छैन भनेर आशंका गरेका थिए ।

Published : Monday, 2019 May 27, 2:46 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया