कम्युनिस्ट सरकारले देखायो निरंकुश रुप, भण्डारी–ओलीको तस्वीर बिगार्ने पक्राउ

काठमाडौं । कम्युनिस्ट सरकारले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री खड्गप्रसाद ओलीको मानमर्दन गरेको भन्दै दुई जनालाई पक्राउ गरेको छ ।

प्रहरी हेडक्वाटरद्वारा जारी बुलेटिनअनुसार राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध अशोभनीय खालका तस्वीर पोस्ट गरेको भन्दै दुई जनालाई पक्राउ गरिएको जनाइएको छ । उनीहरूलाई साइबर क्राइमको अपराध लगाइएको छ ।

पक्राउ पर्नेहरूमा पाल्पा परान्दी गाउँपालिका वडा नम्बर ७ का २२ वर्षीय निर्मल गैरे र रुपन्देही साबिक शंकरनगर गाविस वडा नम्बर ८ का २३ वर्षीय यमप्रसाद पन्थी रहेका छन् ।

गैरेलाई चैत १२ गते भक्तपुर नयाँठिमी र पन्थीलाई चैत १३ गते चितवनबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)बाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।

‘राष्ट्रपति र प्रधानमन्त्रीविरुद्ध हुने गरी अत्यन्त अमर्यादित, अशोभनीय खालका तस्वीर सामाजिक संजालमा पोष्ट गर्ने कार्यमा संलग्न २ जनालाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले पक्राउ गरेको छ’, बुलेटिनमा भनिएको छ ।

दुवै जनालाई विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको मुद्दामा आवश्यक अनुसन्धान कार्य भइरहेको ब्यूरोले जनाएको छ ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले फेसबुकमा तस्वीर बिगारेको भन्दैमा व्यक्ति पक्राउ गर्नु उचित नभएको बताए ।

‘कम्युनिस्ट सरकारले आफ्नो निरंकुश रुप देखाएको छ । सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको छ । विशेष गरेर सार्वजनिक पदमा बसेका कम्युनिस्टहरूले आफ्नो आलोचना भएको रुचाउँदैनन्’, डा.महतले भने, ‘पक्राउ परेका उनीहरूलाई विनासर्त छाड्नुपर्छ ।’

ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई नेपाली कांग्रेसले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको भनेर आरोप लगाइरहेका बेला प्रहरीले भण्डारी र ओलीको तस्वीर बिगारेको भन्दै पक्राउ गरेको छ ।

केही हप्ता अगाडि बसेको संसदको बैठकमा बोल्दै नेपाली कांग्रेसका युवा नेता गगन थापाले कम्युनिस्ट सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्न खोजेको र अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउन लागेको भनेर आरोप लगाएका थिए ।

युवा नेता थापाको त्यो आरोप सेलाउन नपाउँदै राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको तस्वीरलाई अशोभनीय र अमर्यादित बनाएको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ ।

Published : Monday, 2019 April 1, 6:10 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया