कांग्रेसका सांसदले बारा–पर्साका प्रभावित मलम लगाए, आफ्नो तलब काटेर दिए

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले बारा र पर्सा लगायत तराईका जिल्लाहरूका प्रभावितहरूलाई सांसदहरूको दुई दिनको तलव दिने निर्णय गरेको छ ।

कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले विज्ञप्ति जारी गरेर संघीय संसदमा प्रतिनिधित्व गर्ने कांग्रेसका सांसदहरूले आफ्नो दुई दिनको तलव दिने निर्णय गरेको जानकारी दिएका छन् ।

‘चैत १७ गते आइतबारका दिन साँझ बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरूमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरूका लागि राहत स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने सदस्यहरूको दुई दिनको तलब बारबारको रकम सहयोग गर्ने नेपाली कांग्रेस संसदीय दल निर्णय गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।

बारा र पर्सासहितका जिल्लाहरूमा अचानक आएको हावाहुरीले २७ जनाको मृत्यु हुनुका साथै झण्डै चार सय जना घाइते भएका थिए । हावाहुरीले करोडौँको नोक्सानी पुर्‍याएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति विमलेन्द्र निधिलाई प्रभावित जिल्लाहरूमा पुगेर उद्धार र राहतको कार्यक्रम अगाडि बढाउन निर्देशन दिएका छन् ।

उपसभापति निधि बारा–पर्सा जिल्लाहरूमा पुगिसकेका छन् । उनले स्थानीय नेता तथा कार्यकर्ता र सुरक्षाकर्मीहरूसँग परामर्श गरेर अगाडि बढ्ने छन् ।

प्रभावित जिल्लाका सांसद र कांग्रेसका जिल्ला सभापतिहरूको सल्लाहमा नेपाली कांग्रेसले राहतको कार्यक्रम अगाडि बढाउनेछ ।

000

चैत्र १८, २०७५

प्रेस विज्ञप्ति

मिति २०७५ चैत्र १७ गते आइतबारका दिन साँझ बारा र पर्सा लगायत तराईका विभिन्न स्थानहरुमा अकस्मात आएको भीषण हावाहुरीबाट प्रभावितहरुका लागि राहत स्वरुप नेपाली कांग्रेसका संघीय संसदमा प्रतिनिधित्व गर्नुहुने मानननीय सदस्यज्यूहरुको दुई (२) दिनको तलब बारबारको रकम सहयोग गर्ने नेपाली कांग्रेस संसदीय दल निर्णय गर्दछ ।

जय नेपाल !

बालकृष्ण खाण
प्रमुख सचेतक

Published : Monday, 2019 April 1, 5:26 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया