प्रधानमन्त्री ओलीको जिल्लामा कांग्रेसलाई सफलता, कम्युनिस्टहरू निराश

दमक । झापा जिल्लाको गौरादह नगरपालिकास्थित गौरादह खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा नेपाली कांग्रेस निकटका अध्यक्षका उम्मेदवार विजयी भएका छन् ।

गौरादहमा शनिबार राति सम्पन्न मतगणनाअनुसार कांग्रेस निकटका बाबुराम भण्डारी अध्यक्ष पदमा विजयी भएका हुन् । भण्डारीले ८ सय १९ मत पाएको निर्वाचन समितिका सदस्य बद्री कार्कीले जानकारी दिए ।

भण्डारीका प्रतिस्पर्धी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को तर्फबाट अध्यक्षमा उम्मेदवार बनेका दुर्गाप्रसाद गौतम पराजित भएका छन् । गौतमले ७९२ मत पाएका थिए ।

उपभोक्ता समितिको अध्यक्षमा भण्डारीको यो दोस्रो कार्यकाल हो । यसअघि पनि भण्डारीले तत्कालीन एमालेका उम्मेदवारलाई पराजित गरेर उपभोक्ता समितिको अध्यक्ष कब्जा गरेका थिए ।

उपभोक्ता समितिको सदस्यमा कांग्रेसका एकजना सदस्य निर्वाचित भएका छन् । सदस्यमा निर्वाचित हुनेमा भुपालराज कटुवाल रहेका छन् । कटुवालले ७८७ मत पाएर विजयी भएका हुन् ।

उपभोक्ता समितिमा अधिकांश पदमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवारहरू विजयी भएका छन् ।

समितिमा कम्युनिस्टहरूको बहुमत भएपनि नेपाली कांग्रेसका नेतालाई अध्यक्षमा जिताएर सदस्यहरूले कम्युनिस्टका अध्यक्षका उम्मेदवारभन्दा नेपाली कांग्रेसका अध्यक्ष उपयुक्त छन् भन्ने सन्देश दिएका छन् ।

नेकपाका अध्यक्ष समेत रहेका प्रधानमन्त्री खड्गप्रसाद ओलीको गृहजिल्ला झापामा कांग्रेसले क्रमशः कब्जा जमाउँदै लगेको छ । उपभोक्ता समितिमा कांग्रेसका उम्मेदवार विजयी भएपछि सत्तारुढ नेकपाभित्र खैलाबैला भएको छ ।

प्रधानमन्त्री ओली गृहजिल्ला झापा आउँदै गर्दा उपभोक्ता समितिमा उनको पार्टी नेकपाका उम्मेदवार पराजित भएपछि जिल्लाका स्थानीय नेता तथा कार्यकर्ता निरास बनेका छन् ।

ओली सोमबार झापामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आइतबार मोरङ आउँदै छन् ।

ओलीले सोमबार मोरङमा हुने नेकपाका कार्यक्रमहरूमा सहभागिता जनाउनेछन् । त्यसपछि ओली गृहजिल्ला झापा प्रस्थान गर्नेछन् ।

Published : Sunday, 2019 March 31, 8:53 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया