ओली सरकारलाई तरुण दलले उखेलेर फाल्ने, अध्यक्ष–महासचिव–कोषाध्यक्षको संयुक्त घोषणा

काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीले कम्युनिस्टहरूका विरुद्ध कांग्रेस पार्टी र त्यसका भातृसंगठनहरू एकजुट भएर जानुपर्ने बेला आएको बताएका छन् ।

नेपाल तरुण दल काठमाडौं जिल्ला कार्यसमितिले शनिबार दक्षिणकालीमा आयोजना गरेको पुनर्मिलन र वनभोज कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष बस्नेत र महासचिव शाहीले कम्युनिस्टहरूको अधिनायकवादका विरुद्ध सडकबाट सशक्त आन्दोलन गर्नुपर्ने बताए । उनीहरूले भने, ‘तरुण दलभित्र मतभेद छैन । केही तितामिठा कुरालाई हामीले मिलाएका छौँ । अहिले भनेको कम्युनिस्टहरूविरुद्ध लड्ने हो ।’

तरुण दलको कार्यसमितिले कहिले पूर्णता पाउँछ भन्ने प्रश्नको जिसामा अध्यक्ष बस्नेतले भने, ‘तरुण दलले एक महिनाभित्र पूर्णता पाउँछ ।’

कार्यसमितिलाई पूर्णता दिन नसकेर तपाई त असक्षम अध्यक्ष हुनु भयो भन्ने आरोप छ नि हो ? भन्ने प्रश्नको जवाफमा उनले भने, ‘असक्षम वा सक्षम अध्यक्ष भन्ने कुरा इतिहाँसले बताउँछ । धेरै अध्यक्षहरूले गरेको भन्दा राम्रो काम भएको छ । तरुण दलमा एकता छ । तपाईले हुर्नु पर्‍यो । मूल्यांकन गर्नु पर्‍यो । अरु भातृ संगठनका सय जनाले के गरेका छन् । तरुण दलले के गरेको छ भन्ने कुरामा । मैले विस्तृत रुपमा बताउनु पर्दैन ।’

महासचिव र अध्यक्षबीच बोलचाल छैन भन्छन नि हो ? भन्ने प्रश्नको जिसामा बस्नेतले भने, ‘महासचिवसँग बोलचाल छ कि छैन भन्ने कुरा महासचिवलाई नै सोध्नुस् । बरु मिल्छ भने यो कुरा नराख्नुस् । कांग्रेसको कुरा भन्न सक्दैन । तरुण दलमा एकता छ । तपाईले भने जस्तो केही पनि होइन र छैन ।’

नजिकै रहेका महासचिव शाहीले पनि अध्यक्ष र महासचिव बोलचाल छैन भन्ने आरोपहरूको खण्डन गरे । उनले भने, ‘हामीभित्र गुट उपगुट छैन । धेरै काम गरेका छौँ । अझै धेरै गर्न बाँकी छ ।’

तरुण दलका अध्यक्ष बस्नेतले कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई नेपाल तरुण दलले उखेलेर फ्याक्ने घोषणा गरे । ‘खड्गप्रसाद ओलीको कम्युनिस्ट सरकारलाई हामी तरुण दलको शक्तिले नै फ्याक्ने हो । अरुको शक्तिले फाल्ने होइन ।’

‘अन्याय, अत्याचार, भ्रष्टाचार, बिकृति विसंगतीविरुद्ध हाम्रो आन्दोलन हो । यो आन्दोलनमा हामी सशक्त भएर लागेका छौँ’, उनले भने, ‘हाम्रो एउटा मात्रै कमजोरी भनेको कार्यसमिति विस्तार गर्न सकेका छैनौँ । त्यसको जिम्मेवारी अध्यक्षको हैसियतले मैले लिन्छु । तर, सबैलाई थाहा छ किन भएन भन्ने । जबसम्म पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल दाईसँगै बस्न सक्नु हुन्न तबसम्म समितिले पूर्णता पाउँदैन ।’

महासचिव शाहीले तरुण दलको कार्यसमितिमा चार जना रहे पनि सबैबीच सौहार्दपूर्ण वातावरणमा कम्युनिस्टहरूविरुद्ध गतिविधि गर्ने गरेको बताए । ‘हामी चार जनाबीच मिल्ती छ । कांग्रेसमा गुट उपगुट भएपनि हामी मिलेका छौँ । गुटबाटै हामी आए पनि तरुण दलमा समस्या छैन’, शाहीले भने, ‘अध्यक्ष र महासचिवको कुरा एउटै हो ।’

अहिले देशमा कम्युनिस्टको हालिमुहाली भएको बेला पार्टीमा गुटबन्दी होइन एकताबद्ध भएर जानुपर्ने महासचिव शाहीले बताए । ‘हाम्रो लडाइँ कम्युनिस्टका विरुद्ध हुनुपर्छ’, उनले भने, ‘यो विषयमा तरुण दल क्लियर छ ।’

अध्यक्ष बस्नेत र महासचिव शाहीसँग रहेका कोषाध्यक्ष विद्धान गुरुङले पनि नेपाल तरुण दलमा कुनै समस्या नरहेको बताए । उनले आफूहरूको उदेश्य र लक्ष्य भनेको माउ पार्टी नेपाली कांग्रेसलाई कसरी मजबुत बनाएर देशभरिका नेता तथा कार्यकर्तालाई संरक्षण गर्नु रहेको बताए । गुरुङले कम्युनिस्ट सरकारको अधिनायकवादसँग लड्नुपर्ने तरुण दलको प्रमुख दायित्व र चुनौती रहेको बताए ।

Published : Saturday, 2019 March 30, 10:57 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया