कांग्रेस सक्कियो भन्ने ओलीलाई कांग्रेस हेर्न गुल्मीमा निम्तो, आए हज्जारौँ कार्यकर्ता (तस्वीर)

तम्घास । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकार आएपछि देशमा हत्या, हिंसा र बलात्कारका घटना बढेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस गुल्मीले शनिबार सदरमुकाम तम्घासमा आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले कम्युनिस्ट सरकार निर्मलाका हत्यारालाई बचाउने काम गरेको बताए । उनले असुरक्षाका कारण महिलाहरू एक्लै हिँड्न नसक्ने अवस्था आएको बताए ।

कांग्रेस सभापति देउवाले कम्युनिस्ट सरकारले सेनालाई आफ्नो नियन्त्रणमा राखेर एक दलीय अधिनायकवादी शासन संचालन गर्ने दिशामा उन्मुख हुन थालेको आरोप लगाए ।

जनतालाई शुसासन दिई उनीहरूको आर्थिकस्तर माथि उठाउनुको साटो कम्युनिस्ट सरकारले जनतालाई कर बढाएर आतंकित बनाएको देउवाले बताए ।

देउवाले प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई व्यंग्य गर्दै भने, ‘अब प्रधानमन्त्रीको नाम खड्गप्रसाद ओली हैन करप्रसाद ओली राख्नु पर्ने भयो ।’

उनले पार्टीमा एकता र अनुशासनको कमी भएका कारण एक अर्काको खुट्टा तान्ने प्रवृति बढेको बताए । देउवाले अनुशासनहीन र खुट्टा तान्ने प्रवृत्तिलाई अन्त्य गर्न सबैमा एकता र अनुशासन जरुरी रहेको बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिस्ट सरकार संघीयता र संविधानको विरुद्धमा गएको आरोप लगाए ।

उनले कम्युनिस्ट सरकार राष्ट्रवादको भर्‍याङ चढेर अधिनायकवादको शिखरमा चढ्ने रणनीतिमा रहेको बताए ।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइराला सह–महामन्त्री डा.प्रकाशशरण महत, केन्द्रीय सदस्यहरू गोपालमान श्रेष्ठ, दीपक गिरी, भीष्मराज आङदम्बे, चन्द्र भण्डारी, धनराज गुरुङ, एनपी साउद, डिला संग्रौला पन्त लगायतका केन्द्रीय नेताहरूले कम्युनिस्ट सरकारले सिंहदरबारमा बसेर नेपाली जनतालाई लुटिरहेको आरोप लगाए ।

उनीहरूले भ्रष्टाचारीहरूलाई सिरानी लगाएर संरक्षण गरिरहेको भन्दै नक्कली राष्ट्रवादका कुरा गरेर जनतालाई झुक्काउने काम गरेको बताए । ‘सबै अधिकारहरू बालुवाटारमा लगेर अधिनायकवाद लागू गर्न लागेका छन्’, कांग्रेस नेताहरूले भनेका छन् ।

कम्युनिस्ट प्रधानमन्त्री ओलीले नेपाली कांग्रेस सक्कियो भनेर व्याङ्ग्य गरेको विषयलाई कांग्रेस नेताहरूले सम्बोधनका बेला ओलीलाई कांग्रेस हेर्न गुल्मी आउन निम्तो दिएका थिए ।

कांग्रेसका केन्द्रीय सदस्य धनराज गुरुङले भनेका छन्, ‘कांग्रेसलाई कठै सकियो भन्ने प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू ! गुल्मी कांग्रेसको पहिलो जिल्ला सम्मेलनमा उर्लिएको जनलहरलाई के भन्नुहुन्छ ? यहि कार्यक्रममा नेकपाका सयौं नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।’

 

Published : Saturday, 2019 March 30, 10:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया