अर्को चुनावमा कांग्रेस ठूलो पार्टी मात्र होइन बहुमत नै ल्याउँछः डा.महत

काठमाडौं । नेपाली कांग्रेसका सह–महामन्त्री डा.प्रकाश शरण महतले लगानी सम्मेलन गरेर मात्रै देशको विकास नहुने बताएका छन् ।

नेपाली कांग्रेस गुल्मीले शनिबार तम्घासमा आयोजना गरेको जिल्ला अधिवेशनको उदघाटन कार्यक्रमलाई सम्बोधन गर्दै डा.महतले विदेशी लगानी भित्र्याउन पहिला देशभित्रको स्थितिमा सुधार गर्नुपर्ने बताए ।

‘कम्युनिस्ट सरकारले लगानी सम्मेलन गरेको छ । यो सम्मेलन गरेर मात्रै हुँदैन’, उनले भने, ‘लगानी भित्र्याउन पहिला कानूनी व्यवस्था राम्रो हुनुपर्छ । कर घट्नु पर्छ । व्याज घट्नु पर्छ । मूल्य वृद्धि घट्नुपर्छ । नेप्से घटेको छ, बढाउनुपर्छ । भ्रष्टाचार बढेको छ रोक्नुपछ ।’

यी विषयहरूमा गम्भीर भएर कम्युनिस्ट प्रधानमन्त्री खड्गप्रसाद ओलीले समाधान गर्ने हो भने विदेशी लगानी स्वतः भित्रिने बताए ।

यसअघि पनि लगानी सम्मेलन भएको भन्दै उनले पैसा मात्रै ल्याउँदैमा केही नहुने लगानीको वातावरण बनाउनुपर्ने बताए । अहिले लगानीको वातावरण बनाउन नसकेको भन्दै डा.महतले कम्युनिस्ट सरकारको आलोचना गरे ।

कम्युनिस्टहरूले जनतालाई झुठ बोलेर बुहमत ल्याएको आरोप लगाएका कांग्रेसका सह–महामन्त्री डा.महतले भने, ‘ओलीजीले झुठ बोल्नुभएको छ । निर्वाचनमा गरेका प्रतिवद्धताबाट भाग्नुभएको छ । ओली सरकार लम्पसारवादी भएको छ ।’

कम्युनिस्टहरूले निर्वाचनमा जित्दासम्म देशमा कुनै पनि हालतमा विकास र समृद्धि नहुने उनले बताए ।

प्रधानमन्त्री जस्तो व्यक्ति आयातित धर्म संस्कृतिको संरक्षक बनेको भन्दै डा.महतले ओलीको आलोचना गरे । ओलीले संविधान, धर्म, संस्कृति र संस्कारविरुद्ध गएको उनले बताए ।

‘प्रधानमन्त्री जस्तो व्यक्ति कुनै एक धर्मको प्रचार र संरक्षक बन्छन् । होटेलमा बास बस्छन्’, उनले भने, ‘त्यति मात्रै कहाँ हो र कम्युनिस्ट सरकारले भेनेजुएलालाई रोलमोडल बनाउँदै छन् । भेनेजुएलाको पछाडि लागेर समृद्धि नेपाल सुखी नेपाली कहिले हुने हुन् खै ?’

कम्युनिस्टहरूले संविधान बनाउन नसकेकै कारण जनताले कांग्रेसलाई ठूलो पार्टी बनाएर संविधान सभामा पठाएको उनले बताए ।

‘कम्युनिस्टहरूले संविधान बनाउन सकेनन् । कांग्रेसको नेतृत्वमा संविधान बन्यो’, सहमहामन्त्री डा.महतले भने, ‘कांग्रेसले यो देशको विकासको पूर्वाधार बनाएको छ । कम्युनिस्टहरूले जस्तो गफ गरेर जनतालाई झुक्काएको छैन ।’

नेपाली कांग्रेसले कुराभन्दा पनि कामलाई प्राथमिकता दिने गरेका कारण निर्वाचनमा पराजय भोग्नुपरेको डा.महतले बताए । ‘हामीले खुरुखरु काम गर्‍यौँ । कम्युनिस्टले जस्तो झुठको खेती गरेनौँ’, उनले भने, ‘अबदेखि कांग्रेसले गरेका कामको प्रचार गर्नुपर्छ । संगठन पनि निर्माण गर्नुपर्छ ।’

डा.महतले संसारबाट असफल भइसकेको कम्युनिस्टहरू नेपालमा जनतालाई झुक्काएर जितेको बताए । कम्युनिस्टहरूले जस्तो जनतालाई झुक्काउन कांग्रेसलाई आवश्यक्ता नरहेको उनले बताए ।

जनताको काम गरेर अब आउने निर्वाचनमा कांग्रेसले बहुमतको सरकार बनाउने उनले बताए । ‘कांग्रेसले जनताको काम गर्छ, गाउँमा गएर संगठन बनाउँछ’, उनले भने, ‘अब आउने चुनावमा कांग्रेस ठूलो पार्टी मात्र होइन कि बहुमत पनि ल्याउनेछ ।’

नेपाली कांग्रेसको विचार सबैभन्दा राम्रो रहेको सहमहामन्त्री डा.महतले बताए । ‘कम्युनिस्टले भन्दा सयौँ गुणा धेरै काम गरेका छौँ । काम गरेर मात्रै नहुँदो रहेछ’, उनले भने, ‘कामको प्रचार गर्नुपर्ने रहेछ ।’

Published : Saturday, 2019 March 30, 8:36 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया