निधिद्वारा आफ्नै जिल्लाको कांग्रेसको कार्यक्रम बहिस्कार, कार्यकर्ताबाट एक्लिए

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले आफ्नै गृहजिल्ला धनुषाको कार्यक्रमलाई ‘बहिस्कार’ गरेका छन् ।

नेपाली कांग्रेस धनुषाले बुधबार बालाबाखरमा आयोजना गरेको आमसभामा निधि अनुपस्थित रहे । आमसभाको प्रमुख अतिथिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई बोलाइएको थियो ।

पौडेललाई प्रमुख अतिथि बनाएपछि रिसाएका निधिले पोखरामा पार्टीको कार्यक्रम छ भन्दै आफ्नै जिल्लाको कार्यक्रममा अनुपस्थित रहेका हुन् ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् धनुषाका नेता रामकृष्ण यादवले उपसभापति निधिलाई बोलाइएको जानकारी दिए । ‘पार्टीको उपसभापति निधिज्यूलाई बोलाएका थियौँ’, उनले भने, ‘पोखरामा पार्टीको कार्यक्रम छ म आउन सक्दिन भन्ने सन्देश पठाउनु भएको थियो ।’

धुनषा कांग्रेसका जिल्ला नेताहरूले उपसभापति निधिबाट आफूहरूलाई गरिएको व्यवहारबाट चिन्तित भएको टिप्पणी गरेका छन् ।

‘धनुषा जिल्लामा कांग्रेसको जिल्ला कार्यसमितिले राखेको कार्यक्रममा उपसभापति विमलेन्द्र निधि नआउनु भनेको हाम्रो लागि ठूलो दुःख लागेको छ’, नाम उल्लेख नगर्ने सर्तमा जिल्ला कार्यसमितिका एकजना सदस्यले भने, ‘विमलेन्द्र निधिले एक हिसावले धनुषा कांग्रेसको कार्यक्रमलाई बाहिस्कार गरेर कांग्रेस कार्यकर्ताको मन दुखाउनु भएको छ ।’

माओवादीद्वारा हत्या गरिएका शहीद रामसेवक यादवको शालिक अनावरण समेत गरिएको आमसभामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य रामकृष्ण यादव, चन्द्र भण्डारी, महेन्द्र यादव, कल्याण गुरुङ, रञ्जित कर्णसहितका नेताहरू सहभागी थिए ।

तर, कांग्रेसको उपसभापति एवम् तेस्रो वरीयताका नेता निधि नै कार्यक्रममा सहभागी नभइदिँदा धनुषा कांग्रेसका नेता तथा कार्यकर्ताहरूको चित्त दुखेको छ ।

राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का नेता राजेन्द्र महतोसँग प्रतिनिधि सभाको निर्वाचनमा नराम्रोसँग पराजित भएका निधिको आफ्नै जिल्लाभित्र समेत छवि बिगार्दै गएका छन् ।

धुनषामा समेत निधिले गुटको राजनीति गर्दै आएको आरोप छ । निधिकै कारण कांग्रेसका राम्रा नेता तथा कार्यकर्ताहरू संकटमा पर्दै गएका छन् ।

विरोध गुटका नेता तथा कार्यकर्तालाई निधिलाई सौताको व्यवहार गर्ने गरेको धनुषा कांग्रेसका एकजना सदस्यको आरोप छ ।

हुन त पछिल्लो समय नेपाली कांग्रेसलाई विवादमा ल्याउने कार्य गर्दै आएका निधिले गुटभित्र पनि उपगुट बनाएर राजनीति गर्ने गरेको आरोप छ ।

निधिकै कारण स्थानीय, प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा कांग्रेसले पराजय भोग्नु परेको आरोप कांग्रेस नेताहरूले लगाउँदै आएका छन् ।

आइजीपी काण्डमा निधिले कांग्रेस सभापति शेरबहादुर देउवाको इच्छा विपरित नवराज सिलवाललाई बोकेका थिए । देउवाले जयबहादुर चन्दलाई आइजीपी बनाउन खोजेका थिए ।

सभापति देउवाकै गुटका नेता निधिको यो हर्कतले सिङ्गो कांग्रेसलाई असर परेको थियो ।

सोही काण्ड लम्बिदै जाँदा प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाभियोग लगाउनेसम्मको तयारी भएको थियो ।

भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको जनकपुरधाम भ्रमणका बेला बिरोध गरेर निधिले भारतसँगको सम्बन्ध पनि बिगारेका थिए । योगी आदित्यनाथले पूर्वराजा ज्ञानेन्द्र शाहलाई फर्काउन खोजेको आरोप लगाएका थिए ।

निधिले योगी आदित्यनाथलाई गरेको व्यवहारबाट भारत रिसाएको छ । निधि र भारतको अहिले पनि सम्बन्ध सुधार हुन सकेको छैन । निधिलाई लैनचौरले विश्वास गर्न नसकेको उच्च स्रोतले जनाएको छ ।

नेविसंघका विद्यार्थी नेताहरू पनि निधिसँग रिसाएका छन् । पार्टी कार्यालय सानेपामा निधिले विद्यार्थी नेताहरूलाई गरेको व्यवहारले विद्यार्थी नेता र निधिबीचको सम्बन्ध बिग्रिएको हो ।

सभापति देउवाको गुटका नेताका रुपमा चिनिएका निधिले आफ्नै लगानीमा मिडिया पनि चलाउने गरेको आरोप छ ।

Published : Friday, 2019 March 29, 1:28 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया