कांग्रेस उम्मेदवारहरूलाई जिताउन एकजुट भए असन्तुष्ट कानून व्यवसायीहरू

काठमाडौं । नेपाल बार एसोसिएसनको निर्वाचनका लागि डेमोक्र्याटिक लयर्स एसोसिएसन (डिएलए)का तर्फबाट उम्मेदवार छनौटपछि असन्तुष्ट भएकाहरू पनि पछिल्ला केही दिनदेखि आधिकारिक उम्मेदवारलाई नै विजयी गराउन सक्रिय भएका छन् ।

डिएलए र बारका पूर्वअध्यक्ष, वरिष्ठ अधिवक्ता र अध्यक्षका आकांक्षीहरू उम्मेदवार छनौटपछि असन्तुष्ट भएर केहीदिन निस्क्रिय भएपनि अहिले भने सबै जना उम्मेदवारहरू विजयी गराउन सक्रिय भएको डिएलएका उपाध्यक्ष राजु कटुवालले जानकारी दिए ।

डिएलएको उम्मेदवारीप्रति असन्तुष्ट वरिष्ठ अधिवक्ता तथा बारका पूर्वअध्यक्षद्वय हरिहर दाहाल, प्रेमबहादुर खड्का, अध्यक्षका आकांक्षीद्वय माधव बास्कोटा, यदुनाथ खनाललगायतले पनि व्यक्तिगत चाहना र असन्तुष्टिलाई विर्सेर लोकतान्त्रवादी कानून व्यवसायीहरूलाई विजयी गराउनु अहिलेको आवश्यकता भएको बताउँदै उनीहरूलाई जिताउने पक्षमा लागेका छन् ।

आफूहरूले असहयोग गरेर वा निस्क्रिय भएर डिएलएका उम्मेदवार पराजित भएमा लोकतान्त्र, विधिको शासन, स्वतन्त्र न्यायपालिकामा नै असर पर्ने भएकाले असन्तुष्टि भएपनि लोकतन्त्रवादीलाई जिताउन आवश्यक रहेको उनीहरूले बताउने गरेका छन् ।

आफूले चाहेकालाई उम्मेदवार बनाउन नपाएपछि केही दिन डिएलएका केही अगुवाहरू असन्तुष्ट रहेको देखिएको थियो ।

अहिले उनीहरूले नै आफ्ना निकटस्थहरूलाई सूनिलकुमार पोखरेल नेतृत्वको समूहलाई विजयी गराउन सक्रिय भएर लाग्न निर्देशन दिएका छन् ।

सत्तारुढ दल निकट कानून व्यवसायीहरूको समूहले जितेमा सत्ता पक्षको प्रभावमा परेर लोकतन्त्र, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, विधिको शासन, भ्रष्टाचार तथा राजनीतिक हस्तक्षेपका बारेमा बारले आवाज उठाउन नसक्ने भएकाले विपक्षी दल निकट र लोकतन्त्र पक्षधरलाई नै जिताउनु पर्ने उनीहरूको भनाई छ ।

बार एसोसिएन सरकारको प्रभावमा नपरी नागरिकका तर्फबाट आवाज उठाउनु पर्ने संगठन भएकाले सत्तासँग नजिक नभएकाहरू विजयी भएमा आवाज उठाउन नसक्ने उनीहरूको भनाइ छ ।

उनीहरूले उम्मेदवारहरूलाई भेटेर वा फोन गरेर जितका लागि शुभकामना र सुझावहरू पनि दिने गरेका छन् ।

बारका पूर्वमहासचिव समेत रहेका अध्यक्षका उम्मेदवार पोखरेलले विगतमा आफूले पाएको जिम्मेवारी सफलतापूर्वक पूरा गरेको र आफ्नो अहिलेको समूह सबै दृष्टीकोणले सन्तुलित, समावेशी र प्रतिनिधि मुलक भएकाले मतदाताले विजयी गराउने विश्वास व्यक्त गरेका छन् ।

उनले कानून व्यवसायी पारदर्शी हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमा देखाउन र बारलाई समेत पारदर्शी बनाउन भन्दै हिजो सम्पत्ति विवरण सार्वजनिक गरेकोमा त्यसलाई धेरैले सकारात्मक रुपमा लिएका छन् ।

पोखरेल नेतृत्वको समूहले लोकतन्त्रको रक्षा र विकासका लागि लोकतान्त्रिक समूह नै विजयी हुनुपर्ने दावी सहित चुनाव प्रचार प्रसारलाई तिव्रता दिएको डिएलएकी महासचिव लक्ष्मी दाहाल रावलले जानकारी दिइन् ।

कानून व्यवसायीहरूको छाता संगठन मानिने एसोसिएशनको नयाँ नेतृत्व चयनका लागि यही चैत १६ गते शनिबार मतदान हुन लागेको छ ।

एसोसिएसनमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक/एक जना र एक महिला गरी ८ उपाध्यक्ष तथा अन्य १४ जना सदस्यसहित २५ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था छ ।

Published : Friday, 2019 March 29, 11:37 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया