देउवालाई उजुरी हाल्नुअघि क्यासिनो ‘माफिया’ बजगाइँद्वारा कोइराला–रिजालसँग गोप्य मिटिङ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई हदैसम्मको कारबाही गर्न माग गर्नु अघि कांग्रेस महासमिति सदस्य राजेन्द्र बजगाइँले महामन्त्री डा.शशांक कोइराला र केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालसँग गोप्य छलफल गरेको कुरा खुलासा भएको छ ।

बजगाइँले बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा सभापति देउवाले बारम्बार पार्टीको हित विपरीत काम गरेको भन्दै देउवाविरुद्ध कारबाहीको मागसहित उजुरी दर्ता गरेका थिए ।

बजगाइँले उजुरीमा सरकार निर्माण र विघटनमा लोकतान्त्रिक पद्धतिको प्रचुर दुरुपयोग गरेको आरोप लगाएका छन् ।

दोस्रो संविधान सभाको चुनावमा पहिलो पार्टी बनेको नेपाली कांग्रेसलाई पछिल्लो पटकको चुनावबाट कमजोर बनाएको आरोप लगाएका छन् ।

कुनै समय सभापति देउवा र उनकी पत्नी डा.आरजु राणा देउवासँग निकट सम्बन्ध बनाएका क्यासिनो माफिया बजगाइँ पछिल्लो समय महामन्त्री डा.कोइराला र केन्द्रीय सदस्य डा.रिजालसँग निकट हुन पुगेका छन् । कांग्रेसको केन्द्रीय कार्यसमितिमा लैजान क्यासिनो माफिया बजगाइँले महामन्त्री डा.कोइराला र केन्द्रीय सदस्य डा.रिजालसँग लबिङ गर्दै आएका छन् ।

सभापति देउवाविरुद्ध उजुरी हाल्नुअघि गत शनिबार क्यासिनो माफिया बजगाइँ, डा.कोइराला र डा.रिजालबीच बालुवाटारको एक रेस्टुरेन्टमा डिनरसहितको छलफल भएको थियो ।

स्रोतका अनुसार उक्त गोप्य मिटिङमा देउवाले पार्टीलाई तहसनहस बनाएको भन्दै सभापति देउवालाई कमजोर बनाउनका लागि उजुरी हाल्ने तथा देउवा बिरोधी अभियान चलाउने सहमति भएको थियो ।

सबैभन्दा अचम्म त के छ भने क्यासिनो माफिया बजगाइँ देउवाभन्दा पनि बद्ननाम पात्र हुन् । प्रदेशसभा निर्वाचनमा बजगाइँ गोरखा क्षेत्र नम्बर १ ‘ख’मा पराजित भएका थिए ।
गैरकानूनी आर्जनलाई स्रोत नखोजिने मुलुक वा बैंकमा पुर्‍याएर त्यसलाई वैदेशिक लगानीको रूपमा नेपाल भित्र्याउनेहरूको सूचीमा क्यासिनो माफिया बजगाइँको नाम अगाडि आएको छ ।

खोज पत्रकारिता केन्द्र (खोपके)को खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे)सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको नेपाललिक्स २०१९ मा बजगाइँको नाम पनि छ ।

बेलायतको कम्पनी रजिष्ट्रेशन कार्यालय ‘कम्पनिज हाउस’ का अनुसार, बजगाइँले सन् २००४ मा लण्डनमा गोरखा इन्काउन्टर्स लिमिटेड र २०१० मा एफएनबी पब्लिसिङ लिमिटेड कम्पनीमा लगानी गरेका थिए । बजगाइँले नेपालमा ट्याक्स हेवनको लगानी समेत भित्र्याएका छन् ।

उद्योग विभागले उपलब्ध गराएको प्रत्यक्ष वैदेशिक लगानीको सूची अनुसार, उनले अष्ट्रेलियन ‘सिल्भर हेरिटेज’ समूहसँग साझेदारी गरी तीन देशमा विभिन्न कम्पनी खोलेर नेपालमा लगानी ल्याएको देखिन्छ ।

बजगाइँसँग साझेदारीमा होटल तथा क्यासिनो सञ्चालन गर्ने गरी तीन पटकमा ३ अर्ब ७८ करोड रुपियाँ नेपालमा लगानी आएको देखिन्छ ।

बजगाइँको व्यवसायमा केन्द्रीय सदस्य डा.रिजालको नामसमेत जोडिने गरेको छ । कांग्रेस स्रोतका अनुसार डा.रिजालले सूचना तथा संचार मन्त्री हुँदा ठूलो रकम घुस खाएर हुवावेलाई टेलिकमका अर्बौंका ठेक्का दिएका थिए ।

डा.रिजालले टेलिकममा प्राविधिकलाई प्रबन्ध निर्देशक नबनाई चार्टर्ड एकाउन्टेन्ट बुद्धि आचार्यलाई बनाउने क्रममा समेत आर्थिक चलखेल गरेको आरोप लागेको थियो ।

संचार मन्त्रालयमा हुँदा कमाएको कालोधन राजेन्द्र बजगाइँमार्फत् लगानी गरेको डा.रिजालमाथि आरोप लाग्ने गरेको छ ।

जुन कालोधन बजगाइँले ब्रिटिस भर्जिन आइल्याण्डबाट बैदेशिक लगानी भनेर नेपालमा भित्र्याएको आशंका गरिएको छ ।

महत्वकांक्षी बजगाइँ भृकुटीमण्डपमा सम्पन्न कांग्रेसको १३औँ महाविधेशनमा केन्द्रीय सदस्यमा उम्मेदवार बनेका थिए । केन्द्रीय सदस्यमा निर्वाचित हुन बजगाइँले त्यस बेला ५० लाख खर्च गरेका थिए । तर, उनले दुई सय भोट पनि कटाउन सकेका थिएनन् । बजगाइँलाई कांग्रेसभित्र धेरैले रुचाउँदैनन् ।

Published : Friday, 2019 March 29, 8:20 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया