कांग्रेस निकटका पोखरेलको कार्यले कानून व्यवासयीहरूको सम्मान बढायो

काठमाडौं । नेपाल बार एसोसिएसनको नयाँ नेतृत्वका लागि लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् ।

काठमाडौंमा बिहीबार आयोजित कांग्रेस निकटका कानून व्यवसायीहरूको संस्था डेमोक्रेटिक लयर्स एसोसिएसन (डिएलए)ले आयोजना गरेको चुनावी कार्यक्रममा पोखरेलले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीसहितका कानून व्यवसायीहरूले पोखरेलको कार्यको प्रशंसा गरेका थिए ।

कानून व्यवसायी पारदर्शी हुनुपर्छ भन्ने मान्यतालाई व्यवहारमा देखाउन र बारलाई समेत पारदर्शी बनाउन सम्पत्ति विवरण सार्वजनिक गरेको पोखरेलले बताए । पोखरेलले नेपाल बारको अध्यक्षमा निर्वा्िचत भएमा कार्यकाल सकिएपछि पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्ने बताए ।

नेपाल बार एसोसिएसनको उम्मेदवारले सम्पत्ति विवरण सार्वजनिक गर्नुपर्ने वैधानिक व्यवस्था भने छैन । तैपनि उनले सम्पत्ति विवरण सार्वजनिक गरेका हुन् ।

पोखरेलले सार्वजनिक गरेको सम्पत्ति विवरणअनुसार ललितपुरको महालक्ष्मी नगरपालिका ४ को कित्ता नम्बर ७२ मा पाँच आनामा साढे दुई तल्लाको घर, भक्तपुरको दधिकोट ३ (क) को कित्ता नम्बर १२६२ र १२७० मा चार आना जग्गा, मकवानपुर हेटौँडा नगरपालिका वडा १७ मा १ कट्ठा जग्गा र सप्तरीको राजगढ गाउँपालिका २ मा चार कट्ठा १० धुर जग्गा पोखरेलको छ ।

चल सम्पत्तिका रूपमा पोखरेलको सुन २५ तोला, चाँदी ४० तोला र स्ट्याण्डर्ड चार्टड बैंक, प्रभु बैंक र बैंक अफ काठमाडौंमा ११ लाख ५० हजार रुपियाँ नगद रहेको छ ।

पोखरेलसँग १० लाख रुपियाँ बराबरको विभिन्न बैंक तथा वित्तीय संस्थामा शेयर र एक हुन्डाइको कार रहेको छ ।

चुनावीसभामा बार र डिएलएका पूर्वअध्यक्षसहितका पदाधिकारी, वरिष्ठ अधिवक्ता लगायतले बार एसोसिएन सरकारको प्रभावमा नपरी नागरिककोतर्फबाट आवाज उठाउनुपर्ने संगठन भएकाले सत्तासँग नजिक नभएकालाई विजयी बनाउनुपर्ने बताए ।

Published : Friday, 2019 March 29, 7:48 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया