देउखुरीबाट कांग्रेस नेताहरूले भने, ‘चिन्ता गर्नुपर्दैन ठूलो पार्टी बन्छौँ’ (तस्वीर)

गढवा । नेपाली कांग्रेसका नेताहरूले पार्टी कमजोर नरहेको बताएका छन् । उनीहरूले गाउँगाउँमा कांग्रेसका गतिविधिहरू पहिलाको भन्दा धेरै सक्रिय भएको बताए ।

उनीहरूले निर्वाचनमा प्राविधिक रुपमा कांग्रेसका उम्मेदवारहरू पराजित भएपनि मतको आधारमा कांग्रेसको भोट बढेको बताएका छन् । कांग्रेसका कार्यकर्ताहरू निराश हुनुपर्ने अवस्था नरहेको बताए ।

बुधबार दाङ जिल्लाको देउखुरीस्थित गढवामा कार्यकर्ता भेटघाट तथा सम्बोधन कार्यक्रममा नेताहरूले कांग्रेसका गाउँका कार्यकर्ताहरूमा अहिले पनि उत्तिकै उर्जा आफूहरूले पाएको बताए ।

नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले कांग्रेसलाई सुदृढ बनाएर लैजानुपर्ने समय आएको बताए । ‘कांग्रेसलाई अझै बलियो बनाउनुपर्ने आवश्यक्ता भएको छ’, उनले भने, ‘अर्को चुनावमा कांग्रेस पहिलो पार्टी बन्छ ।’

महामन्त्री डा.कोइरालाले गाउँमा कांग्रेस बलियो रहेको भन्दै अझै धेरै बलियो बनाउने समय आएको बताए ।

कम्युनिस्ट सरकारले सबै अधिकारहरू केन्द्रिकृत गरेर निरंकुश बन्ने बाटोमा रहेको भन्दै डा.कोइरालाले भने, ‘यस्तै अवस्था रह्यो भने कम्युनिस्टहरूको अधिनायकवादविरुद्ध लड्ने समय आउन सक्छ ।’

केन्द्रीय सदस्य डा.मीनेन्द्र रिजालले कम्युनिस्ट सरकारले नागरिकको मौलिक अधिकार र अभिव्यक्ति स्वतन्त्रतालाई खोस्ने दुस्साहस गरिरहेको बताए । ‘कम्युनिस्ट सरकारले नागरिकका अधिकार खोस्दै छ’, उनले भने, ‘दुई तिहाइको दम्भले खड्गप्रसाद ओलीलाई निरंकुश बन्ने इच्छा पाएको छ ।’

नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले कम्युनिस्ट सरकारले देशमा शान्ति सुरक्षा दिन नसकेको बताए । उनले पछिल्लो समय झन् शान्ति सुरक्षाको अवस्था खस्किदै गएको बताए । ‘कम्युनिस्ट सरकारले देशलाई बर्बाद बनाएको छ’, उनले भने, ‘देशलाई जोगाउने दायित्व कांग्रेसको काँधमा आएको छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेताहरू सञ्जयकुमार गौतम, अनिता देवकोटा, राजु खनाल, योगेन्द्र चौधरी, शंकर डाँगी, किरण किशोर घिमिरे, मृदुला कोइराला लगायतका नेताहरूको सहभागिता रहेको थियो ।

Published : Thursday, 2019 March 28, 10:29 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया