बारको निर्वाचनमा कांग्रेस निकटका उम्मेदवारहरू उत्साहित, कम्युनिस्टहरूविरुद्ध आक्रामक प्रचार

काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमितिको निर्वाचनअन्तर्गत मतदान हुन दुई दिन बाँकी रहँदा नेपाली कांग्रेस निकटका कानून व्यवसायीहरूलाई प्रचार प्रसारलाई तीब्र बनाएका छन् ।

बृहत लोकतान्त्रिक समूह गठन गरेर सुनिलकुमार पोखरेलको नेतृत्वमा चुनावी मैदानमा उत्रिएको हो । बिहीबार चुनावी सभा गर्नुका साथै मतदाताहरूसँग पोखरेल समूहले आफ्ना उम्मेदवारहरूको पक्षमा मतदान गर्न अपील गरेको छ ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) निकटको प्रगतिशील समूहले चण्डेश्वर श्रेष्ठको नेतृत्वमा निर्वाचनमा भाग लिँदै छ । जनमोर्चा नेपाल निकट मानिने श्रेष्ठलाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिएका छन् ।

लोकतान्त्रिक समूहले कानून व्यवसायीको हकहित, न्यायालयको पारदर्शितालगायतका मुद्धालाई अगाडि सारेका छन् ।

‘लोकतान्त्रिक मूल्यमान्यताको संरक्षण, नियन्त्रित शासनविरुद्धको अभियान, संघीय लोकतान्त्रिक गणतन्त्रः हाम्रो प्रविद्धता’ भन्ने नाराका साथ लोकतान्त्रिक समूह मैदानमा छ ।

सत्तारुढ नेकपाका उम्मेदवारहरूभन्दा फरक शैली र नाराका साथ लोकतान्त्रिक समूहले प्रचार प्रसार गरेको छ ।

लोकतान्त्रिक समूहबाट अध्यक्षको उम्मेदवारी दिएका पोखरेलले देशभरिका नेपाल बार एसोसिएसनका कानून व्यवसायी मतदाताहरूलाई आफूहरूको पूरै प्यानललाई जिताउन आग्रह गरेका छन् ।

‘देशभरिका मतदाता र कानून व्यवसायीलाई वृहत लोकतान्त्रिक समूहलाई विजयी गराउन अपील छ’, उनले भने, ‘नियन्त्रित शासन व्यवस्थाको विपक्षमा रहेको लोकतान्त्रिक समूह विजयी हुने छौँ ।’

नेपाल बार एसोसिएसनको नयाँ कार्यसमितिका लागि चैत १६ गते देशभरि एक साथ मतदान हुँदै छ । मत परिणामको नतिजा आउन दुई दिन लाग्नेछ ।

Published : Thursday, 2019 March 28, 12:07 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया