कम्युनिस्ट सरकारका यी मन्त्रीका पिएहरूको कर्तुतले कर्मचारीहरू दिक्क

काठमाडौं । प्राविधिक शिक्षा तथा व्याबसायिक तालिम परिषद् (सिटीइभिटी) ले कर्मचारीहरूलाई बिदेश भ्रमण पठाउँदा मनपरी गरेको खुलेको छ ।

परिषद्को कर्मचारी सेवा, शर्त तथा सुबिधा सम्बन्धि बिनियमावली २०६९ संशोधन सहितको परिच्छेद १० को १०३ (१) अनुसार बिदेशमा अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त कर्मचारीको मनोनयन गर्दा ‘पहिले बैदेशिक अध्ययन, तालीम वा भ्रमण गर्ने मौका नपाएका कर्मचारीलाई प्राथमिकता दिइनेछ’ भन्ने व्यवस्था हुँदाहुँदै सो को पालना नगरिएको प्रष्ट देखिएको छ ।

स्वीट्जरल्याण्डको भ्रमण गरिसकेका प्रशासन महाशाखाका निर्देशक महेश भट्टराई लगत्तै बेलायतको भ्रमण गर्न सफल भएका छन् । उनी पेशाले इन्जिनियर हुन । शिक्षामन्त्री गिरिराजमणि पोखरेलको संरक्षण पाएपछि उनलाई कानूनले छोएन ।

यसअघि पोखरेल नै शिक्षामन्त्री हुँदा सम्बन्धन सम्बन्धि कार्यको लागि तत्कालीन निमित्त सदस्य सचिव रमेश बखतीले असहयोग गरेका कारण उनलाई हटाई भट्टराईलाई प्रशासन महाशाखाको निर्देशकमा सरुवा गरिएको हो ।

शिक्षा मन्त्रालयको प्रशासन महाशाखाको सहसचिवलाई प्रशासन बाहेक अन्यत्र काममा लगाउन मिल्दैन । तर, परिषद्मा इन्जिनियर भएपनि भट्टराईलाई प्रशासनको निर्देशक बनाईएको छ । यो विनियमावली विपरित कार्य हो ।

परिषद् कार्यालय शिक्षा मन्त्रीको लहड अनुसार सञ्चालन भैरहेको छ । तर, अन्य निर्देशकहरू भने टुलु टुलु हेरेर बसेका छन् । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलको निगाह भएकोले भट्टराई यसरी पटक–पटक विदेश भ्रमणमा जान सफल भएका हुन् ।

त्यसैगरी परिषद् अन्तर्गत शिक्षालयको रिक्त बरिष्ठ प्रशिक्षकमा बढुवा भएका ईश्वरचन्द्र घिमिरे शिक्षालयको पदमा पदस्थापना भएको तर १ दिन पनि शिक्षालयमा हाजिर नभई ३ महिनाको फिलिपिन्स भ्रमणको लागि मनोनयन गरिएको परिषद् स्रोतले जनाएको छ । यसअघि उनी १० महिना भारतको चेन्नाईमा तलिममा भाग लिन गएको र अर्को पटक कोरिया समेत गएका थिए ।

अर्कोतिर सिटीइभिटी व्यवस्थापनले कर्मचारीहरूलाई वृत्ति विकासको लागि प्रत्येक वर्ष विज्ञापन गर्नुपर्नेमा यसपटक नहुने भएको छ । नेपालको संबिधान अनुसार परिषद्को कर्मचारी भर्ना तथा बढुवा सम्बन्धमा लिखित परीक्षा सञ्चालन गर्न लोक सेवा आयोगले गर्ने भएपनि चालु आ.व. २०७५/०७६ को अन्तिम चौमासिक शुरु हुँदा समेत विज्ञापन गर्नेतर्फ कुनै चासो दिइएको छैन ।

यो वर्ष विज्ञापन हुन नदिन केही निर्देशकहरु समेत लागिपरेको पनि बुझिएको छ । तल्ला तहका कर्मचारीहरूको वृत्ति विकास होस् भन्ने उनीहरूको भावना छैन । जबकि गत वर्ष २०७४ श्रावण ३१ गते नै विज्ञापन गरी कर्मचारी नयाँ भर्ना तथा बढुवाको प्रकृया शुरु गरिएको थियो ।

त्यस्तै मन्त्रीका सल्लाहकार र पिएहरूले सिटीइभिटीलाई दुहुनो गाई बनाएका छन् । परिषद्को ४०७४ नम्बरको गाडी मन्त्री, मन्त्रीका सल्लाहकार जीवन गौतम र पिएहरूले दुरुपयोग गर्दै आइरहेका छन् ।

उक्त ४०७४ नम्बरको गाडी कहाँ कसरी गुडेको छ र कसलाई लिएर कुन–कुन मितिमा कुन–कुन स्थानमा गएको छ भन्ने कुराको विवरण सो गाडीको ड्राईभरले राखेको लगबुकबाट प्रष्ट देखिन्छ ।

सायद पशुपति शर्माले यस्तो देखेर नै होला ‘लुट्न सके लुट कान्छा लुट्न सके लुट, अरु देशमा पाईंदैन नेपालमै छ छुट’ भनेका होलान । पिएहरूले भाडामा गाडी लिने र लागेको रकम परिषद् कार्यालयलाई तिर्न लगाउँछन् ।

उक्त रकम तिर्न परिषदका हाकिमहरू बाध्य भएको स्रोत बताउँछ । त्यसो त पूर्णबहादुर भुजेल र आचार्य थरका २ जना ड्राईभरलाई परिषद् कार्यालयबाट तलब भत्ता खाने गरी मन्त्रालयले काममा लगाउँदै आएको छ । (यूनाइटेड पोस्ट साप्ताहिक )

Published : Thursday, 2019 March 28, 7:58 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया