पूर्वमन्त्री न्यौपानेलाई पाँच लाख धरौटीमा छाड्न आदेश

काठमाडौं । विशेष अदालतले पूर्वमन्त्री एवम् सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य बद्रीप्रसाद न्यौपानेलाई बुधबार पाँच लाख धरौटीमा छाड्न आदेश दिएको छ ।

भृकुटीमण्डपको फनपार्क भाडा प्रकरण अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्यौपानेविरुद्ध विशेष अदालतमा माघ २१ गते मुद्धा दायर गरेको थियो ।

अख्तियारले पूर्वमन्त्री न्यौपानेलाई फनपार्क भाडा प्रकरणमा करीव साढे ३१ करोड राज्यलाई नोक्सानी पुर्‍याएको भन्दै मुद्धा दायर गरेको थियो ।

विशेष अदालतका मुख्य न्यायाधीश बाबुराम रेग्मीको तीन सदस्यीय संयुक्त इजलासको न्यौपानेलाई पाँच लाख धरौटीमा छाड्न आदेश दिएको अधिवक्ता शिव अर्यालले जानकारी दिए ।

न्यौपाने महिला बालबालिका तथा समाजकल्याणमन्त्री हुँदा २०६० साल भदौ २० गते फनपार्क क्षेत्रको करीव ६० रोपनी जग्गा प्रतिरोपनी महिनाको ९ हजार २ सय ५० रुपियाँमा ठेकेदार टेकबहादुर गुरुङलाई भाडामा दिने निर्णय भएको थियो ।

प्रचलित मापदण्ड र प्रकृया विपरीत बदनियतपूर्ण तरिकाले ठेकेदारलाई जग्गा भाडामा दिँदा ३१ करोड ५२ लाख १७ हजार ६ सय ७५ रुपियाँ २० पैसा नोक्सान भएको देखिएकाले सोही बिगो माग दावीसहित अख्तियारले मुद्धा दायर गरिएको थियो ।

अख्तियारको माग दाबीलाई विशेष अदालतले अस्वीकार गरेर पाँच लाख धरौटी माग गरेको छ ।

पूर्वमन्त्री न्यौपानेको तर्फबाट अधिवक्ताहरू उपेन्द्रकेशरी न्यौपाने, रमण श्रेष्ठ, गोविन्द बन्दी, शिव अर्याल लगायतका अधिवक्ताले बहस गरेका थिए ।

न्यौपाने सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका केन्द्रीय सदस्य पनि हुन् ।

Published : Wednesday, 2019 March 27, 6:04 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया