कम्युनिस्ट सरकार दमनकारी बन्यो, द्वन्द्व बढने खतरण बढयोः डा.शशांक कोइराला

घोराही । नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले नेत्रवित्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपालाई दबाउने कम्युनिस्ट सरकारको गतिविधि उपयुक्त नभएको बताएका छन् ।

नेपाल प्रेस युनियन दाङले बुधबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै डा.कोइरालाले वार्ता र छलफलबाट समाधान खोज्नुको साटो दबाउने र प्रतिबन्ध लगाउने काम उचित नभएको बताए ।

‘बिखण्डनकारी सीके राउतसँग वार्ता गर्न सकिन्छ भने चन्दसँग किन सकिँदैन ?’, प्रश्न गर्दै उनले भने, ‘सीके राउतले त देश टुक्राउने कुरा गरेका छन् । चन्दले त त्यस्तो के गरेका छन् र ?’

महामन्त्री डा.कोइरालाले भने, ‘सरकारले चन्दलाई प्रतिबन्धित गर्नु गलत कदम भयो । यस्तो राजनीतिले सही बाटो लिँदैन ।’

१२ वर्ष युद्ध गरेको तत्कालिन माओवादीलाई वार्ता गरेर शान्ति प्रक्रियामा ल्याउन सकेको सन्दर्भ उल्लेख गर्दै डा.कोइरालाले अहिले विप्लवलाई पनि आतंकित नपारेर छलफलमा ल्याउन सक्नुपर्ने धारणा व्यक्त गरेका छन् ।

‘हिजो १७ हजार मान्छे मार्ने गरी युद्ध गर्ने पार्टीलाई त गिरिजा बाबुले वार्ता गरेर शान्ति प्रक्रिया ल्याउनुभयो भने अहिले त झन के भएको छ र ?’ उनले भने, ‘तत्काल दमनमा उत्रन जरुरी थिएन । दमन र अत्याचारले राम्रो गर्दैन ।’

दमनकारी राजनीति २१ औं शताब्दीमा नसुहाउने विचार व्यक्त गर्दै डा.कोइरालाले समाधानको उपयुक्त माध्यम वार्ता र छलफल नै भएको बताए ।

‘हरेक समस्याको समाधान वार्ता र छलफल नै हो । कसैलाई जर्वजस्ती ठीक गर्न खोज्नु राम्रो होइन,’ उनले भने, ‘अहिलेको राजनीतिमा यस्तो सुहाउँदैन । यो राम्रो कदम भएन ।’

सरकारका कामहरू जबरजस्ती, स्वेच्छाचारी र दमनकारी भैरहेको उनले बताए ।

कम्युनिस्ट सरकारका यस्ता क्रियाकलापले मुलुकमा अस्थिरता बढ्ने उल्लेख गर्दै महामन्त्री डा.कोइरालाले सबै असमझदारी र असन्तुष्टिलाई मेलमिलापपूर्ण वातावरणबाट सम्बोधन गर्न सरकारलाई सुझाव दिए ।

Published : Wednesday, 2019 March 27, 12:19 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया