शंकर पोखरेल, ओलीको बिग्रिएको फोटोकपीः गगन थापा (भिडियो)

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् सांसद गगनकुमार थापाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई प्रधानमन्त्री खड्गप्रसाद ओलीको बिग्रिएको फोटोकपीको संज्ञा दिएका छन् ।

अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकामा केही दिन अगाडि भएको नेपाली कांग्रेसको आमसभालाई सम्बोधन गर्दै थापाले शंकर पोखरेलले खड्गप्रसाद ओलीको नक्कल गर्न खोज्ने गरेको आरोप लगाए ।

पोखरेलले ओलीको नक्कल गर्न खोजेपनि नक्कल नमिलेको थापाको भनाइ थियो । ‘प्रदेश पाँचको मुख्यमन्त्री बाहिरबाट हेर्दा प्रधानमन्त्रीको फोटोकपी जस्तो देखिनु हुन्छ’, उनले भने, ‘तपाईहरूको मुख्यमन्त्री प्रधानमन्त्रीको फोटोकपी होइन । बिग्रिएको फोटोकपी हो ।’

कांग्रेसका नेता थापाले साता वटा प्रदेशमध्ये सबैभन्दा धेरै बिग्रिएको प्रदेशमा प्रदेश ५ पहिलो स्थानमा रहेको बताए । ‘दिन दहाडै तरुण दलको सदस्यको हत्या हुन्छ । शान्ति सुरक्षा छैन’, उनले भने, ‘यो प्रदेशको सरकार भ्रष्टाचारमा लिप्त भएको कुरा यहीको संसदको सार्वजनिक लेखा समितिले निस्कर्ष निकालेको छ ।’

पाँच नम्बर प्रदेशले केन्द्रबाट पाएको पैसाको १५ प्रतिशत पैसा पनि खर्च गर्न नसकेको कांग्रेसका नेता थापाले मुख्यमन्त्री पोखरेललाई आरोप लगाए ।

‘तर तपाईको मुख्यमन्त्री दिनमा तीन पटक केन्द्रको सांसदहरूलाई नसिहत दिनुहुन्छ । उपदेश दिनु हुन्छ । सिकाउनु हुन्छ’, थापाले भने, ‘नप्रदेशको सरकारले काम गर्न सकेको छ । न प्रदेशको सरकारले काम गर्नको निम्ति संघको सरकारले वातावरण बनाउन सकेको छ ।’

प्रदेश ५ का मुख्यमन्त्री पोखरेलको क्रियाकलाप र राज्य सञ्चालन गर्न नसकेकोमा आलोचना गर्दै थापाले भ्रष्टाचारले यो प्रदेश चुर्लुम्म डुबेको बताए ।

Published : Wednesday, 2019 March 27, 11:07 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया