‘विप्लव’का तेस्रो वरीयताका ठूला नेता पक्राउ, प्रहरीलाई सफलता

काठमाडौं । नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रभावशाली ठूला नेतालाई पक्राउ गरेको छ ।

ललितपुरको नख्खुमा एकजनाको ज्यान जाने गरी भएको बम विस्फोटका प्रमुख योजनाकार मानिएका हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई प्रहरीले पक्राउ गरेको हो ।

‘विप्लव’को नेकपामा सुदर्शन प्रभावशाली नेता मानिन्छन् । उनको स्थायी घर दाङमा पर्छ ।

नेकपाको मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज ‘सुदर्शन’ शुक्रबार राति काभ्रेबाट पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाका निमित्त प्रमुख एसपी केदार ढकालले जानकारी दिएका छन् ।

सुदर्शनलाई प्रहरीको विशेष ब्यूरो, महाशाखा काठमाडौंको टोली र काभ्रे प्रहरीले पक्राउ गरेको थियो ।

सुदर्शनसँगै नेकपाका शंकर अधिकारी, धर्मराज राजबाहक, रामकृष्ण खतिवडा, विजय श्रेष्ठ, ललित लामा, सञ्जीव कार्की, वेद घिमिरे र लोकेन्द्र खड्का पक्राउ परेका छन् ।

नेकपामा सुदर्शनका विश्वासिला नेतामा पर्छन् । सुदर्शनकै योजनामा फागुन १० गते ललितपुरको नख्खुमा रहेको एनसेल टावर अगाडि बम विस्फोट भएको थियो ।

विस्फोटमा एकजनाको मृत्यु भएको थियो । केही व्यक्ति घाइते भएका थिए । सो घटनाका केही दोषीहरू पक्राउ परेका छन् ।

ओली विप्लवको पार्टीका तेस्रो नम्बरका नेता हुन् । दोस्रो नम्बरका मानिएका प्रकाण्डलाई भन्दा विप्लवले स्थायी समिति सदस्य सुदर्शनलाई विश्वास गर्छन् । सुदर्शनले नख्खु बम विस्फोटको जिम्मेवारी लिएका थिए ।

कम्युनिस्ट सरकारले ‘विप्लव’ नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाएसँगै प्रहरीले नेकपाका नेतालाई गाउँगाउँ पुगेर प्रकाउ गर्न शुरु गरेको छ ।

Published : Saturday, 2019 March 23, 6:46 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया