गाउँमा केन्द्रित हुँदै रामचन्द्र पौडेल, विकासमा राजनीति नगर्न आग्रह

दमौली । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गृहजिल्ला तनहुँमा पुलको शिलान्यास गरेका छन् ।

पौडेलले बुधबार रिसिङ गाउँपालिकाले भिरकोटमा निर्माण गर्न लागिएको मोटर चल्ने पुलको शिलान्यास गरेका हुन् ।

पुलको शिलान्यास गर्दै पौडेलले विकास निर्माणमा सबैले योगदान गर्नुपर्ने बताए । ‘विकास भनेको तेरो मेरो हुँदैन’, उनले भने, ‘गाउँका विकासमा हामी सबै मिलेर गर्नुपर्छ ।’

उनले कांग्रेसले विकास निर्माणमा सक्दो सहयोग गर्ने बताए । वरिष्ठ नेता पौडेलले पुललाई समयभित्र निर्माण पूरा गरी जनतालाई सेवा दिनुपर्ने बताए । उनले गाउँको विकासमा राजनीति नगर्न सबैलाई आग्रह गरेका छन् ।

आफ्नै बजेटमा रिसिङ गाउँपालिकाले करीव ३ करोड २० लाख खर्च गरेर पुल निर्माण गर्न लागेको छ । तीन वर्षभित्र पुल निर्माण गर्ने लक्ष्य राखिएको छ ।

नेपाली कांग्रेसका वरिष्ठ नेता पौडेलले पछिल्लो समय गाउँका जनतालाई धेरै समय दिन थालेका छन् । उनले गाउँमा हुने सानाभन्दा साना कार्यक्रममा उपस्थित भएर गाउँका नेता तथा कार्यकर्ताको मनोवन बढाउँदै आएका छन् ।

कार्यक्रममा प्रदेश सांसदद्वय सरिता गुरुङ र दोबाटे बिक, नेपाली कांग्रेस तनुहुँका सभापति बैकुण्ठ न्यौपाने, कार्यबाहक सभापति जितप्रकाश आले, रिसिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठ, रामचन्द्र पोखरेल, केदार सिग्देल, झुल आलेसहितका नेताहरूको सहभागिता रहेको थियो ।

 

Published : Thursday, 2019 March 21, 7:05 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया