गिरिजाबाबुको कार्यक्रमलाई ओली सरकारले कपीपेस्ट गरेको खुलासा !

काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थमन्त्री डा.रामशरण महतले लगानी सम्मेलन गर्नु आवश्यक रहे पनि दुई तिहाइको अहँकारी कम्युनिस्ट सरकारले पर्याप्त गृहकार्य र छलफल नगरेको बताएका छन् ।

रिपोर्टर्स क्लव नेपालले बिहीबार काठमाडौंमा आयोजना गरेको साक्षत्कारमा डा.महतले विदेशी लगानी भित्र्याउनुपर्छ भनेर तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले नै सुरुवात गरेको बताए । अहिलेको सरकारले पर्याप्त गृहकार्य नगरेरै लगानी सम्मलन गर्न लागेको भन्दै चिन्ता जनाए ।

‘गिरिजाबाबुले विदेशी लगानी ल्याउनकै लागि अभियान शुरु गर्नुभयो’, उनले भने, ‘उहाँले उदार आर्थिक नीति ल्याउनुभयो । बास्तवमा गिरिजाबाबुले आधुनिक नेपालका लागि ठूलो काम गर्नुभएको छ । केपी ओलीजीले त्यसलाई अगाडि बढाउनु भएको छ । राम्रो हो ।’

उनले मुलुकको विकास र समृद्धिको लागि विदेशी लगानी आवश्यक रहेको बताए । ‘कम्युनिस्ट सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलन स्वागतयोग्य छ’, डा.महतले भने, ‘तर यसको लागि जति तयारी र छलफल गर्नुपर्ने थियो, त्यो भएको छैन् ।’

उनले वामपन्थी सरकारले पनि गिरिजाबाबुले अघि सारेको कुरालाई स्वीकार गरेर लगानी सम्मेलन गर्न लागेकोमा खुशी व्यक्त गरे । पूर्वअर्थमन्त्री डा.महतले भने, ‘यो त खुशीको कुरा हो, सम्मेलन सफल होस् भन्ने हाम्रो शुभकामना छ, यो अति आवश्यक थियो । विदेशी लगानी नबढाई मुलुक विकास हुन सक्दैन् ।’

विदेशी लगानी आकर्षणको लागि सरकारले केही पूर्व आवश्यकत्ताहरू पूरा गर्नुपर्ने डा.महतको सुझाव थियो । उनले भने, ‘अहिले केही नयाँ कानूनहरू पारित भएका छन्, विदेशी लगानीको लागि नेगेटिभ लिष्ट पहिलेभन्दा लामो बनाइएको भनिएको छ ।’

डा.महतले औद्योगिक, कृषिलगायतका क्षेत्रमा विदेशी लगानी ल्याउन जरुरी रहेको बताए ।

कांग्रेस नेता डा.महतले पाइला–पाइलामा भ्रष्टाचार व्याप्त रहेको सुनाए । ‘सरकारले पहिलो कुरा सुशासन कायम गर्नुपर्छ, अहिलेपनि सरकारले दिने सुविधा लिनै मुश्किल छ’, उनले भने, ‘कानून बनाएरमात्रै हुँदैन्, कार्यान्वयनमा जानुपर्छ ।’

तीन वर्ष पहिले काठमाडौंमा भएको लगानी सम्मेलनको स्मरण गराउँदै डा.महतले सम्मेलनबाट आएको प्रतिबद्धताअनुसार लगानी नआएकोमा अब सरकारले गम्भीर समीक्षा गर्नुपर्ने बताए ।

Published : Thursday, 2019 March 21, 6:14 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया