अमेरिकामा प्रचण्डलाई आइलाग्यो अर्को आपत्, सबै कार्यक्रम बहिस्कार

न्युयोर्क । अमेरिकामा नेपाली कांग्रेस निकटको जनसम्पर्क समितिले सत्तारुढ नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को अमेरिका भ्रमणप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

अमेरिकामा रहेका नेपाली जनसम्पर्क समितिका सदस्य, माओवादी द्वन्द्वपीडित र लोकतन्त्र पक्षधरहरूको दश वर्षे जघन्य हिंसाका कम्युनिष्ट ‘नाइके’ ‘प्रचण्ड’को अमेरिका भ्रमणप्रति आफूहरूको गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन् ।

समितिले प्रचण्डको अमेरिका भ्रमणलाई बहिस्कारसहित विरोध गर्ने जनाएको छ ।

वासिंगटन डिसी मेट्रो क्षेत्र (भर्जिनिया, डिसी र मेरिल्याण्ड) मा बसोवास गर्दै आइरहेकाहरूको संयुक्त छलफलले डिसी क्षेत्रमा रहेका प्रचण्डको सबैखाले सार्वजनिक कार्यक्रम बहिष्कार गर्ने निर्णय गरेका छन् ।

उनीहरूले विगतमा प्रचण्डको नेतृत्वमा भएको मानवअधिकार हनन् र हत्याबारे अमेरिका तथा अन्य अन्तर्राष्ट्रिय कानूनको ध्यानाकर्षण गराउन विरोध गर्ने निर्णय गरेका छन् ।

प्रचण्डले १७ हजार नेपालीको हत्या गरेको जिम्मेवार कम्युनिष्ट पार्टी माओवादीका नाइके हुन् भन्दै उनीहरूले प्रचण्डको नेतृत्वमा भएको मानवअधिकार हनन् र जघन्य प्रकृतिका घटनाहरूका कारण नेपालले दश वर्ष लामो हिंसा बेहोर्नुपरेको तथ्य समेत सार्वजनिक गरेका छन् ।

उनीहरूले प्रचण्डको खर्च पारदर्शी रुपमा सार्वजनिक गर्न पनि माग गरेका छन् ।

विज्ञप्ति

मितिः मार्च २० ,२०१९

अमेरिकामा रहेका नेपाली जनसम्पर्क समितिका सदस्यहरु र माओवादी द्वन्द्वपीडित र लोकतन्त्र पक्षधरहरुको दश वर्षे जघन्य हिंसाका कम्युनिष्ट नाइके पुष्पकमल दाहाल प्रचण्डको अमेरिका भ्रमण प्रति गम्भीर ध्यानाकर्षण भएको छ ।

वासिंगटन डिसी मेट्रो क्षेत्र (भर्जि्निया,डिसी र मेरिल्याण्ड)मा बसोवास गर्दै आइरहेका हाम्रो संयुक्त छलफलले हाल डिसी क्षेत्रमा रहेका प्रचण्डको सबैखाले सार्वजनिक कार्यक्रम बहिष्कार गर्ने र विगतमा उनको नेतृत्वमा भएको मानव अधिकार हनन र हत्याका बारे अमेरिका र अन्य अन्तर्राष्ट्रियय कानुनको ध्यानाकर्षण गराउन विरोध गर्ने निर्णय गरेको छ ।

प्रचण्ड सत्र हजार नेपालीको हत्याका जिम्मेवार कम्युनिष्ट पार्टी माओवादीका नाइके हुन् । उनको नेतृत्वमा भएको मानव अधिकार हनन् र जघन्य प्रकृतिका घटनाहरुका कारण नेपालले दश वर्ष लामो हिंसा बेहोर्नु र्पयो। जुन हिंसा र हत्याका कारण निर्दोष नेपाली बालबालिकाहरु मारिए, हजारौं नेपाली अंगभंग भए र लाखौँ नेपाली विस्थापित भएका छन् ।

अध्यापनरत् शिक्षकहरुको अपहरण गरी पाशविक हत्या गर्ने,पत्रकार,व्यवसायी,कम्युनिष्ट विचारको समर्थन नगर्ने कांग्रेसजन तथा लोकतन्त्रवादलाई समर्थन गर्ने र सर्वसाधारण नागरिकलाई समेत क्रुर रुपमा आक्रमण र हत्या गर्ने हत्यारा कम्युनिष्ट पार्टीका जिम्मेवार हुन् प्रचण्ड ।

स्वतन्त्रतापूर्वक आफ्नो जिवन यापन गरेर बाँच्न पाउने नैसर्गिक मानव अधिकारको जघन्य हननकर्ता हुन् प्रचण्ड । सुरक्षाकर्मी,सरकारी कर्मचारीलाई क्रुर रुपमा हत्या गर्ने,बैंक लुटपाट र कब्जा गर्ने,सरकारी एवं सार्वजनिक संरचना ध्वस्त गर्नेलगायतका हिंसा र मानव अधिकारको जघन्य उल्लङ्घनकर्ता आतंककारी हुन प्रचण्ड ।

तसर्थ, मानव अधिकारको उच्च सम्मान गर्ने मुलुक अमेरिकामा बसोवास गर्ने हामीले जुनसुकै प्रकारका हिंसा र आपराधिक गतिवधिका विरुद्ध आवाज बुलन्द गर्नु लोकतन्त्र पक्षधर हामी सबैको दायित्व हो ।

आततायी गतिविधि गर्ने जो कोहीलाई पनि अमेरिकी न्यायिक निकाय र अन्तर्राष्ट्रिय मानव अधिकार उल्लंघन सम्बन्धी नियमन गर्ने न्यायिक निकायले ढिलो चांडो कानुनी दायरामा ल्याई कारवाही गर्दै आइरहेको नजीर हामीसंग छ ।

यस अर्थमा हत्या,व्यक्ति हिंसा,अपहरणजस्ता मानव अधिकार विरुद्धका जघन्य गतिविधि गर्ने कम्युनिष्ट माओवादीका प्रमुख प्रचण्ड अमेरिकाको कानुनी सर्वोच्चता र मानव अधिकार सम्बन्धी अन्य अन्तर्राष्ट्रिय कानुनका दृष्टिले पनि अपराधी र आतंककारी हुन् ।

यस्ता आतंककारी कम्युनिष्ट अपराधीले कुनै पनि बहानामा उन्मुक्ति पाउनु हुँदैन भन्दै हामी अमेरिकी सरकारको न्यायिक निकाय र अन्तराष्ट्रिय मानव अधिकार संघ,संगठन समेतको ध्यानाकर्षण गराउन चाहन्छौं ।

हाल अमेरिकामा रहेका यिनै कम्युनिष्ट आतंककारीको सार्वजनिक विरोध गर्नु र उनी सहभागी हुने सबैखाले कार्यक्रम बहिष्कार गर्नु, उनको नेतृत्वमा भएको हिंसा र आतंकबाट पीडित सम्पूर्ण नेपालीहरुको पक्षमा बोल्नु हो भन्ने हाम्रो ठहर छ ।

हामी हाम्रो मातृभूमि नेपाललाई माया गर्ने लोकतन्त्र पक्षधर सबैलाई हत्यारा कम्युनिष्ट नाइकेको विरोधमा ऐक्यवद्धताका लागि अपील गर्दछौं । यसका लागि हामी डिसी मेट्रो क्षेत्रमा बसोवास गर्ने कांग्रेसजनहरुको तर्फबाट अमेरिकी न्यायिक निकाय र अन्य अन्तर्रा्ष्ट्रिय मानव अधिकारवादी संघ,संगठनको आवश्यक ध्यानाकर्षण गराउन र प्रचण्डलाई अन्तरराष्ट्रिय अपराध सम्बन्धी कानुनी प्रक्रिया कार्यान्वयन गर्न,गराउनका लागि एक कार्यदल समेत गठन गरिएको छ ।

साथै, नेपाली जनताले तिरेको करको रकमबाट भ्रमण सहुलियत दिने गरी करदाताको रकम दुरुपयोग, र सम्पूर्ण विदेशमा रहेका नेपालीहरुले विप्रेषणमार्फत योगदान गरेको रकमको समेत दुरुपयोग नभएको होस भनि नेपाल सरकार एवं वासिंगटन डिसी स्थित नेपाली राजदूतावासको ध्यानाकर्षण गराउदै प्रचण्डको भ्रमण खर्चको विवरण पारदर्शी रुपमा सार्वजनिक गर्न अनुरोध गर्दछौं ।

Published : Thursday, 2019 March 21, 12:48 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया