गिरिजाप्रसाद कोइरालाको मन छुने त्यो भित्री रुप

काठमाडौं । नेपाली राजनीतिका शिखर पुरुष एवम् शान्तिका महानायक पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९औँ स्मृति दिवस नेपाली कांग्रेसका साथै शुभेच्छुकहरूले विभिन्न कार्यक्रम गरेर स्मरण गर्दै छन् ।

कांग्रेसका तत्कालीन सभापति समेत रहेका गिरिजाप्रसाद कोइरालाको आज कै दिन नौं वर्ष अगाडि निधन भएको थियो । कोइरालाको निधन काठमाडौंको मण्डिखाटारस्थित छोरी सुजाता कोइरालाको निवासमा भएको हो ।

कम्युनिस्टहरूप्रति कठोर गिरिजाप्रसाद कोइरालाले नेपालमा माओवादीको सशस्त्र युद्धले आक्रान्त बनाएका बेला देश र जनताको हितलाई ध्यानमा राखेर १२ बुँदे दिल्ली सम्झौता गरेका थिए ।

१२ बुँदे शान्ति सम्झौताले देश र जनताले शान्ति पाएपछि नेपाली कांग्रेसको प्रशंसा भएको थियो । तर, नेपाली कांग्रेस पराजित हुँदै छ भन्ने थाहा हुँदा हुँदै गिरिजाप्रसाद कोइरालाले निर्वाचनमा जाने निर्णय गरेका थिए ।

सशस्त्र विद्रोह गरेको तत्कालीन नेकपा (माओवादी)लाई शान्तिपूर्ण बाटोमा ल्याउन कोइरालाको ठूलो भूमिका छ । माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग १२ बुँदे सहमति गराएर कोइरालाले माओवादीहरूलाई शान्तिपूर्ण र संसदीय राजनीतिमा अवतरण गराएका हुन् ।

प्रचण्डले अहिले पनि गिरिजाप्र्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आउने गरेका छन् । उनले आफ्ना अधिकांश सम्बोधनहरूमा गिरिजाप्रसाद कोइरालाको नाम लिन्छन् ।

कोइराला प्रधानमन्त्री भएका बेला नेपालको विकास र आर्थिक वृद्धिमा ठूलो योगदान रहेको छ । कोइरालाकै कारण देशको आर्थिक नीति मजबुद भएको थियो ।

राजनीतिक अडान लिन सक्ने र हकी स्वभावका गिरिजाप्रसाद कोइरालाले प्रेस स्वतन्त्रता, न्यायालय र संसदीय पद्धतिको सधैँ बचाउ गर्थे । उनले प्रेस कमजोर भयो भने प्रजातन्त्रमाथि प्रहार हुने आफ्ना अधिकांश भाषणहरूमा भन्ने गर्थे ।

तत्कालीन एमालेले गिरिजाप्रसाद कोइरालाको ठूलो आलोचना र विरोध गर्दै आएको थियो । तर, एमालेले गिरिजाप्रसाद कोइरालालाई असफल बनाउन करीव दुई महिनासम्म संसद अबरोध गर्नुका साथै रत्नपार्कका रेलिङहरू भाँचेको थियो ।

तैपनि गिरिजाप्रसाद कोइरालाले नआत्तिएर एमालेलाई सहमतिमा ल्याउने प्रयास गरेका थिए ।

माओवादीलाई शान्ति प्रक्रियामा ल्याएपछि गिरिजाप्रसाद कोइरालाले ०६२–०६३ को दोस्रो जनआन्दोलनको नेतृत्व गरे । त्यही आन्दोलनले राजा ज्ञानेन्द्र शाहको निरंकुश राजतन्त्रको अन्त्य हुन पुग्यो ।

राजा र भारत कहिल्यै पनि गिरिजाप्रसाद कोइरालासँग खुसी हुन सकेनन् । कम्युनिस्टहरूले जहिले पनि गिरिजाप्रसाद कोइरालालाई दरबार र भारतपरस्त भएको आरोप लगाइरहे । बास्तव गिरिजाप्रसाद कोइरालालाई दरबार र भारतले पेलेर राखेका थिए । उनीहरूसँग भित्रभित्रै टलस गरेर गिरिजाप्रसाद कोइरालाले देश र जनताको हितका लागि काम गरे । भारत र दरबार जहिले पनि गिरिजाप्रसाद कोइरालासँग डराउँथेँ ।

सधै सहमति र सहकार्यको राजनीतिमा जोड दिएका गिरिजाप्रसाद कोइरालाले वीपी कोइरालाको मेलमिलापको नीतिलाई इमान्दारिताका साथ अबलम्बन गरेका थिए । वीपीको त्यही नीतिलाई अबलम्बन गरेकै कारण गिरिजाप्रसाद कोइराला नेपाली राजनीतिको शिखर पुरुष र शान्ति प्रक्रियाका महानायक बन्न सफल भएका हुन् ।

नेपाली कांग्रेसका नेता तथा कार्यकर्ता र शुभेच्छुकहरूले गिरिजाप्रसाद कोइरालाको अहिले पनि उच्च सम्मानका साथ नाम लिने गर्छन् । नेपाली कांग्रेस र शुभेच्छुकहरूले आज (बिहीबार) देशभरि विभिन्न कार्यक्रम गरेर स्मरण गर्दै छन् ।

Published : Thursday, 2019 March 21, 9:12 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछThis is required

*

फेसबुकबाट तपाईको प्रतिक्रिया